शुक्रबार, ३० जेठ २०८२

बदाम व्यापारबाट मनग्य आम्दानी

समयपोष्ट २०७५ पुष २४ गते १७:३९

Advertisement

काभ्रेपलाञ्चोकको सिकरआम्बुडे–३ निवासी ३५ वर्षीया माया लामाले दश वर्ष अघिदेखि बदामको व्यापार गर्दै आएका छन् । लगनखेल चोक बदाम व्यापरको मुख्य थलोको रुपमा प्रयोग गर्दै आएकी उनले कात्तिकदेखि फागुनमहिनासम्म यसैको व्यापारबाट मनग्गे कमाइ गर्दै थोक व्यापारीसमेत भइसकेका छन् ।

“जाडोमा बदामको माग अत्यधिक हुन्छ । त्रिशूलीबाट बोराका बोरा बदाम मगाएर खुद्रा व्यापारीलाई पाथीमा बेच्छु”, मयाले भने, “यो वर्ष बदाम व्यापार शुरु गरेको करीब तीन महीनामात्र भयो नाफा पनि मनग्गे भइरहेकोे छ ।”

बदाम खाँदा मिठो हुने भएकाले खरीद गरी लानेको सङ्ख्या पनि बढ्दो छ । मायासँग पाथीका पाथी बदाम खरीद गरी डालो, नाङ्लो वा गाडामा घुमाएर खुद्रामा व्यापार गर्नेहरू लगनखेल र आसपासका क्षेत्रमा प्रसस्त भेटिन्छन् ।

मायाले साना कोसा बदाम प्रतिबोरा रु तीन हजार ५०० र मोटाकोसा बदाम प्रतिबोरा रु पाँचहजार आठसयमा खरिद गरेर सानाकोसा बदाम प्रतिपाथी रु २५० र मोटोकोसा प्रतिपाथी रु ३०० मा विक्री गर्छन् ।

Advertisement

उनले प्रत्येक महीना कोठाभाडा, खाई खर्च र छोराछोरी पढाउन मासिक रु १५ हजार खर्च हुने र बदाम विक्रीबाटै जीवन गुजारा गर्दै आएको बताए । मायाको व्यापारमा पतिले पनि साथ दिनुभएकाले उनीहरूलाई व्यापार गर्न सहज भएको छ ।

छिमेकी मुलुक भारत सितामणि जिल्लाका १७ वर्षीय रोहीत महत्व पनि लगनखेलमै बसी बदामको खुद्रा व्यापार गर्छन् । आफूले विगत दुई वर्षदेखि मायाबाटै बदाम खरिद गरी खुद्रा व्यापार गर्दै आएको उनले बताए

मानाको ५० रुपैयाँका दरले दिनमा पाँच देखि ६ पाथी बदाम बिक्री गर्छु, महत्वले भने, “दिनमा करीब रू८०० देखि ९००सम्म नाफा हुन्छ ।” महीनामा बदाम व्यापारबाट रु २० हजारसम्म नाफा गर्छु, महत्वले थपे, “गतवर्ष ४५ हजार नाफा गरेँ ।” गर्मी याममा बदामको विक्री कम हुने भएकाले त्यसबेला बोतलको पानी व्यापार गरी दैनिक जीवनयापन गर्छु ।

सिन्धुपाल्चोक निवासी ४० वर्षीया विष्णुमाया ढंङ्गेलले पनि विगत तीन वर्षदेखि बदाम व्यापार शुरु गरेका हुन् । उनले बदाम बिक्री गरी दैनिक करिव ५०० नाफा गर्ने गरेको बताए । “त्रिशूलीको कान्ची बदाम ल्याएर बिक्री गर्ने गर्छु, यसबाटै बिहान बेलुकाको गुजारा टार्न पुगेको छ,’ ढुङ्गेलले भने, “बदामको विक्री नभएपछि बोतलको पानी र काँक्रो बिक्री गर्दै आएकाले आफूले अहिलेसम्म खाली हात बस्नु परेको छैन । ”

बर्दिवास घर भएका ५१ वर्षीया गोपाल थापा मगर विगत पाँचवर्षदेखि लगनखेल चोकमा बसी बदाम व्यापार गर्दै आएका छन्। प्राय बिदाका दिन परिवारसँग बसी बदम खानुको आन्नद छुट्टै हुन्छ भन्दै ग्राहकले बदाम खरीद गर्न आउने गरेको उनले बताए ।

“शनिबारलगायत अन्य चाड पर्वका बेला बदामको बिक्री बढी हुन्छ’’, मगरले भने, “मोटा कोसा भएका बदामले शरीरलाई फाइदा गर्छ भन्दै थुप्रै ग्राहकले त्यै बदाम खान रुचाउँने हुँदा यसबाट महीनाको रू २० देखि २५ हजार नाफा हुन्छ ।”

बदाम व्यापार ललितपुर क्षेत्रमा मात्रै होइन, हरेक गाउँटोलदेखि बजार क्षेत्रमा उत्तिकै हुन्छ । दैनिक बदाम व्यापारका लागि डुल्नुपर्ने हुँदा व्यापारी फोहरी हुने, तिनका हातखुट्टा फुट्ने र बिरामी पनि पर्ने गरेपनि नाफा हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।

काठमाडौँ डायबिटिज एण्ड रिसच सेन्टरका पोषणविद् रितु महर्जनले बदाममा प्रोटिन र चिलोको मात्रा बढी हुने भएकाले जाडोमा बदाम खाँदा शरीरमा शक्ति र ताप बढाउछ भने ।

बदाममा क्याल्सियम, मिनरल, फस्फोरस र आइरनको मात्रा हुन्छ । शरीर मोटो हुने र विभिन्न रोगबाट सङ्क्रमित व्यक्तिले दैनिक रुपमा निश्चित मात्रामा बदाम खाँदा शरिरमा कुनै असर नपर्ने उनको भनाइ थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री