बिहीबार, ६ वैशाख २०८१

पुँजी वृद्धिसंगै लगानी विस्तारको चुनौती

समयपोष्ट २०७३ माघ १५ गते ८:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी ८ अर्ब पुर्याउन भनेको समयावधि ५ महिनामात्र बाँकी रहँदा अहिले प्रायः कमर्सियल बैंकहरू ८ अर्ब पुँजी नजिक पुगेका छन् । हाल सञ्चालनमा रहेका २८ वटा कमर्सियल बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले ८ अर्ब पुँजी पुर्याइसकेका छन् भने बाँकी २६ बैंकहरूले मर्जर, एक्विजिसन, एफपिओ, हकप्रद र बोनस सेयर दिएर ८ अर्ब पुँजीको नजिक पुग्दै छन् । यससँगै अब कमर्सियल बैंकहरूको संख्या २८ भन्दा नघट्ने पनि निश्चितप्राय भएको छ । 
पुँजी बढेसँगै लगानीका पूर्वाधार तयार नहुँदा बैंकहरूलाई कहाँ लगानी गरेर प्रतिफल दिने भन्नेमा चुनौती थपिएको छ । ‘अब पुँजी बढेसँगै चार गुणा डिपोजिट र चार गुणा लगानी गर्ने अवसर पनि बढ्नुपर्यो । त्यही कस्टोमर एउटा बैंकबाट अर्को बैंकमा गएर त्यो आठ अर्बको पुँजीलाई हामी सर्भिस गर्न सक्दैनौ’ नेपाल बैंकर संघका अध्यक्ष अनिल शाह भन्छन्, ‘नेपाल सरकारले जुन बजेट ल्याउँछ त्यही कार्यान्वयन गरेन भने डिपोजिट कसरी बढ्छ रु रेमिट्यान्स आइरहेको छ, पहिले पनि आइरहेकै थियो, दुई अर्ब हुँदा पनि आइरहेकै थियो । अचानक नेपालको पुँजी बढ्यो भनेर चार गुणा त रेमिट्यान्स बढ्दैन ।’
बैंकहरूले हिजो दुई अर्बको पुँजीमा जे प्रतिफल दिँदै आएका थिए आज ८ अर्बको पुँजीमा पनि त्यही प्रतिफल खोज्नु स्वाभाविक हो । तर, बैंकले हिजो सानो पुँजीमा जति कमाएको थियो आज ठूलो पुँजीमा तत्काल त्यो कमाउन नसक्न सक्छ । ‘क्यापिटल बढिसकेपछि हिजोको दिनमा एउटा लेबलको क्यापिटललाई सर्भिस गर्न क्यापिटल पुग्थ्यो भने भोलिको दिनमा प्रोफिट नपुग्न सक्छ । नेपाल बैंकर संघका पूर्वअध्यक्ष उपेन्द्र पौडेल भन्छन्, ‘नपुगेपछि सबै बैंकलाई प्रोफिट बढाउने प्रेसर हुन्छ ।’ बैंकिङ व्यवसायमा नाफाभन्दा पनि दिगोपनलाई बढी हेर्नुपर्ने उनको धारणा छ । ‘पुँजी बढेसँगै तत्काल प्रतिफल खोज्ने मार्केटको बुझाइ नै गलत भइसक्यो । त्यसले गर्दा मुुनाफा समायोजन गर्ने एउटा ठूलो च्यालेन्ज रहन्छ,’ पौडेल भन्छन् ।

Advertisement


GC-Realty-Investments-Real-Estate-Investment-Risks

बढेको पुँजीमा अनियन्त्रित हिसाबमा व्यापार व्यवसाय बैंकहरूले बढाउन थाले भने त्यसले चुनौती निम्त्याउनुको साथै तरलताको पनि दबाब आउने उनको भनाइ छ । ‘बिजनेसमात्र गराउने तर स्रोतसाधनको परिचालन छैन भने अर्कै किसिमको समस्याहरू आउँछन्,’ एनएमबी बैंकका सीईओसमेत रहेका पौडेल भन्छन्, ‘त्यसले गर्दा अलि सम्हालिएर काम गर्नुपर्छ र पुँजी वृद्धिपछि कुलिङ पिरियड पनि चाहिन्छ ।’
बैंकहरूले बढाएको पुँजीअनुसार लगानी विस्तार गरेर प्रतिफल दिन निश्चय नै केही वर्ष लाग्छ । तर, छिटो कमाएर छिटो प्रतिफल दिन खोजे त्यसले पक्कै पनि जोखिम उत्पन्न गराउने खतरा छ । नियन्त्रित रूपमा कर्जा प्रवाह गरेर व्यवसाय विस्तार पनि बुझेरै मात्र गर्नुृ बैंकहरूसामु चुनौतीको विषय बनेको छ । 
‘मेरो यही वर्ष आठ अर्ब पुग्छ र यही वर्ष पुँजीअनुसारको कर्जा पनि बढाउँछु भन्दा केही जोखिम आउन सक्छ,’ एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसाल भन्छन्, ‘आज प्लानिङको आवश्यकता छ, अलिकति ब्यालेन्स गर्यो भने पुँजीमा प्रतिफल केही मात्रामा घट्ला तर लङटर्ममा फाइदा नै हुन्छ ।’
बैंकको पुँजी वृद्धिसँगै देशमा आर्थिक क्रियाकलापहरू सोचेजस्तो रूपमा अगाडि बढ्न नसकेको खण्डमा पुँजी वृद्धिबाट उपलब्ध हुने स्रोत देशको समग्र आर्थिक क्रियाकलापलाई टेवा नपुग्ने क्षेत्रमा लगानी हुने सम्भावना रहने स्टान्डर्ड चार्टर्ड बैंकका मार्केटिङ हेड दिवाकर पौडेल बताउँछन् । 
‘देशको समग्र अर्थतन्त्रमा रोजगारी, पुँजी परिचालन एवम् उत्पादनमुखी क्रियाकलापमा खासै मद्दत  पुर्याउँदैन । बैंक तथा वित्तिय संस्थाहरूको पुँजी वृद्धिले यस्ता संस्थाहरूलाई थप कर्जा प्रदान गर्नुपर्ने बाध्यता सृजना गर्छ,’ उनी भन्छन्, ‘यसरी प्रवाह हुने कर्जाहरू गुणस्तरीय छन् वा छैनन् एवम् उत्पादनमुखी क्रियाकलापमा यस्ता कर्जा प्रवाह हुन्छन् वा हुँदैनन् भन्ने नै अहिलेको चासो र चिन्ताको विषय हो ।’ 

लगानी योग्य रकमको अभाव

1एकातिर बैंकहरू धमाधम पुँजी वृद्धिमा लागेका छन् भने अर्कोतिर बजारमा तरलता अभाव चरम छ, अहिले अधिकांश बैंकहरू नयाँ ऋण दिनै नसक्ने अवस्थामा पुगेका छन् । लगानीकर्तालाई थप पुँजी वृद्धिसँगै उनीहरूलाई सोहीअनुसार प्रतिफल दिनका लागि बैंकहरूले गएको ६ महिनामा अत्यधिक कर्जा प्रवाह गरे । तर, सोहीअनुसार बचत बढ्न सकेन भने अर्कोतिर सरकारी विकास गर्च न्यून भयो, जसले गर्दा अहिले लगानी योग्य रकम बैंकहरूमा अभाव भएको छ । 
नयाँ संविधान जारी भएपछि आएको पहिलो बजेटले धेरै महत्वाकांक्षा बोकेको थियो । जसमा साढे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य थियो । तर, आधा आर्थिक वर्ष सकिनलाग्दा पनि जम्मा ११ प्रतिशतमात्र विकास खर्च भएको छ । सरकारले विकास खर्च गर्न नसक्दा सरकारी खातामा अहिले २ खर्ब रुपैयाँ थन्किएको छ । जसले गर्दा सरकारी, आईएनजीओ, कूटनीतिक नियोग र बहुराष्ट्रिय कम्पनीका खाता भएका बैंकहरूबाहेक अहिले अधिकांश बैंकहरूमा नयाँ कर्जा प्रवाह गर्ने पैसा सकिएको छ । पुस मसान्त आयकरको पहिलो किस्ता बुझाउने समय भएकाले बजारबाट थप ४० देखि ४५ अर्ब रुपैयाँ सरकारको ढुकुटीमा जाने भएपछि वित्तिय संस्थाहरू थप समस्यामा परेका छन् । 
बैंकहरूले अहिले आफूहरूसँग लगानीयोग्य रकम नभएकाले सरकारी सुरक्षण धितो राखेर रकम दिनुपर्ने माग गर्न थालेका छन् । विकास खर्च वा ऋण दिन नसके आफूहरूले पनि ऋण लगानी कम गर्न बाध्य हुने बताएका छन् । बैंकरहरूले राष्ट्र बैंकसमक्ष सुरक्षण (टेजरी बिल्स लगायत) धितो राखेर पुनर्कर्जा सुविधा माग गरेका छन् । उनीहरूले यो रकम अनुत्पादक क्षेत्रमा लगानी नगर्ने पनि प्रतिबद्धता जनाएका छन् । 
अहिलेको तरलता अभावले पनि बैंकहरूको चार गुणा पुँजी वृद्धिमाथि प्रश्न उठाएको छ । यदि सरकारले राम्रो काम गरेन भने बढेको पुँजीबाट लगानीकर्तालाइ खुसी पार्न नसकिँदोरहेछ भन्ने कुरा अहिले बैंकहरूले क्रमशः बुझ्दै जान थालेका छन् । ‘सरकारका हरेक निर्देशन हामीले मानेका छौं, नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाह भन्छन्, ‘हामीले राम्रो गर्न खोज्दाखोज्दै पनि सरकारले काम नगरिदिँदा अहिलेको समस्या आएको हो ।’ सरकार आर्थिक वृद्धिको लक्ष्यअनुसार नहिँड्दा ८ अर्ब पुँजी चुनौती भएको उनको भनाइ छ । ‘आठ अर्बलाई व्यवस्थापन गर्नुपर्ने चुनौती छ । त्यसलाई व्यवस्थापन नगरे बैंकलाई अप्ठेरो पर्छ,’ उनले भने, ‘व्यवस्था गर्न लाग्दा सरकारी नीतिका कारण अप्ठेरो भोग्नुपर्ने अवस्था छ ।’

बिस्तारिदैं बैंक

banking-services-290x300नेपालमा कमर्सियल बैंकको सुरुवात नेपाल बैंकबाट भएपछि निजी क्षेत्रको सुरुवात भने जोइन्ट भेन्चरका रूपमा आएकोे नेपाल अरब बैंकबाट हो । अहिले नेपालमा २८ वटा कमर्सियल बैंकहरूको १ हजार ८ सय ७१ शाखाहरू छन् । १७ खर्ब ६४ अर्ब रुपैयाँ अहिले बैंकहरूमा डिपोजिट छ । १ करोड ३० लाख भन्दा बढी नेपालीले खाता खोलेका छन् । १४ खर्ब ३ अर्ब रुपैयाँ बैंकबाट लोन गएको छ । सानोसानो लगानीदेखि लिएर ठूला हाइड्रो प्रोजेक्टसम्मको लगानी अधिकांशको बैंकहरूकै छ । ६० देखि ७० प्रतिशत लगानी वित्तिय क्षेत्रले नै गरेको छ । 
७ लाख ५३ हजार कर्जाका ग्राहकहरू वित्तिय क्षेत्रमा छन् । आज २८ वटा बैंकहरूमा पब्लिक र प्रमोटर सेयर लगानीकर्ताको लगानी १ खर्ब २३ अर्ब रुपैयाँ छ । १७ खर्ब ६४ अर्ब रुपैयाँ निक्षपकर्ताको पैसा रेहको बैंक रहेको छ ।
नेपाल बैंकर संघका अध्यक्ष अनिल शाहका अनुसार अहिले बैंकहरूको मुख्य चुनौती भनेको सेयरहोल्डर, प्रमोटरलाई अरू व्यवसायमा जस्तै मुनाफा, प्रतिफल दिनुपर्ने रहेको छ । ‘राम्रो रिटन्र्स दिएर नै आज स्टक एक्सचेन्ज तल–माथि जाने गरिरहेको छ । स्कट एक्सचेन्ज पनि वित्तिय क्षेत्र तल–माथि जानेमै निर्भर छ,’ उनले भने । 
उनका अनुसार अरू बिजनेसहरूमा मुनाफा आर्जन गरेर मात्र ठीक हुन्छ, जति सक्यो गरौं भन्ने हुन्छ । तर, बैंकिङमा कसरी हुन्छ नाफा पु¥याउने र आफ्नो संस्थाको विश्वास जोगाउने भने रहेको

हुन्छ ।
‘त्यो कारणले गर्दा अरू क्षेत्रभन्दा वित्तिय क्षेत्र फरक छ । राजधानीमै भूकम्पले त्यति ठूलो प्रभाव पारिसक्दा पनि हामी सेवा दिन सफल भयौं । त्यसपछि लगत्तै तराई आन्दोलन भयो । त्यसपछि पनि वित्तिय क्षेत्र ढलमलायो, ढल्न लाग्यो भनेर कहिले पनि सुनिएको छैन,’ अध्यक्ष शाह भन्छन्, ‘वित्तिय क्षेत्रको कमाइ भनेकै विश्वास हो । जसरी हुन्छ त्यो विश्वासलाई कायम मात्र राख्ने होइन झन्झन् मजबुत बनाउँदै लैजाने प्रयास भइरहन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री