शुक्रबार, ७ वैशाख २०८१

‘नेपाली जनतामा भारतविरोध भावना छैन’

समयपोष्ट २०७३ माघ १२ गते १२:३१

नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको स्पष्ट पारेका छन् । 
उनले भने,‘भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप गरेको छैन, यो कुरा नेपालीहरुको मनमा पनि छैन, हस्तक्षेप गरेर भारतलाई के फाईदा हुन्छ ?’ राजदुत रायले नेपालमा अस्थिरता भए भारतलाई के फाईदा हुन्छ भन्दै उल्टै प्रश्न समेत तेर्साए। 
उनले भने,‘नेपाललाई फाईदा नहुने कुरा, भारतलाईपनि फाईदा हुँदैन्।’ यद्धपी उनले भारतले नेपालको हरेक परिवर्तनको पक्षमा साथ दिएको ईतिहास सुनाए। ‘‘काठमाडौंका केही राजनीतिक भाषणमा यस्तो कुरा सुनिएपनि नेपाली जनतामा यस्तो विरोधी भावना छैन’, उनले थपे।
उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई थप मजबुद र आगामी दिनमा आर्थिक साझेदारीमा केन्द्रित रहेर अघि बढाउनुपर्ने बताएका छन्। 
भारतीय ६८ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा राजदुत रायले नेपाल–भारत सम्बन्ध देश–देशवीचको सम्बन्ध मात्रै नभएर व्यक्ति–व्यक्तिवीचको सम्बन्ध भएको बताउँदै भने,‘नेपाल–भारत द्धिपक्षीय सम्बन्ध प्रगाढ छ, अब २१ औं शताब्दी अनुसार द्धिपक्षीय सम्बन्धलाई कसरी थप मजबुद बनाउने भन्ने हामीवीच चूनौतिहरु छन्, त्यतातर्फ हामीले सोच्नुपर्छ।’
राजदुत रायले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अब सामाजिक, साँस्कृतिक, धार्मिकका साथसाथै आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने धारणा राखे। रायले थपे,‘अबको हाम्रो सम्बन्धनको आधार नै आर्थिक एजेण्डा बनाउनुपर्छ, काँधमा काँध मिलाएर कसरी विकास र आर्थिक समृद्धिको बाटोमा हिड्न सकिन्छ भनेर सोच्नुपर्छ।’
उनले नेपाल–भारत सम्बन्ध आर्थिक साझेदारीका साथ अघि बढिसकेको समेत स्पष्ट पार्दै भने,‘आर्थिक साझेदारीका सुरुवातहरु भैसकेका छन्, पञ्चेश्वर महायोजनाको कार्यान्वयन हुँदैछ, यसको डिपीआर अन्तिम चरणमा पुगेको छ, यही वर्षको मध्यतिर यो महायोजना लागु हुन्छ, यो लागु हुनेवित्तिकै सुदुरपश्चिममा मात्रै नभएर पूरै नेपालमै विकासको तरँग पैदा हुन्छ।’ 
त्यस्तै उनले अपर कर्णाली, अरुण तेस्रो परियोजनाहरु पनि अघि बढिरहेको उल्लेख गरे। यद्धपी उनले उक्त परियोजनाहरु निर्माणको क्रममा केही स्थानीय अवरोधहरु भएपनि त्यसलाई समाधान गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे। ‘केही ¥याडिकल इलेमेन्टहरुले अवरोध गर्ने, अहिलेपनि त्यहाँ एउटा गाडी तोडफोड गरिएको समाचार आएको छ,’ उनले थपे। 
उनले नेपालमा हाईड्रो पावर प्रोजेक्टहरु निर्माण भए विजुली उत्पादनले नेपाललाई  फाईदा हुने बताए। राजदुत रायले भने,‘विजुली उत्पादन भएपछि नेपाललाई मात्रै होईन, यहाँ बढि भएको विजुली भारत लगायत अन्य मुलुकलाई नेपालले बेच्नपनि सक्छ।’’
द्धिपक्षीय सम्बन्धमा समय समयमा केही समस्याहरु पैदा हुनु स्वभाविक भएको उल्लेख गर्दै राजदुत रायले भने,‘हामीवीचको सम्बन्धमा केही समस्याहरु आउँछन्, हामीवीच यति निकट सम्बन्ध छ, प्रगाढ सम्बन्ध छ, तर अब हाम्रो सम्बन्धलाई विकासको ट्रेण्डमा अघि बढाउनुपर्छ।’ उनले विकास साझेदारीको लागि पिटीए र पीडिए समेत भैसकेको स्पष्ट पारे। 
त्यस्तै उनले भारतले ट्रान्समिसन लाईन समेत निर्माण गरिदिएको बताए। राजदुत रायले थपे,‘ट्रान्समिसन लाईन निर्माण सम्पन्न भएसँगै अब नेपालमा लोडसेडिङ् अन्त्य गर्न मद्यत पुग्छ।’ अब रक्सौल–परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय ट्रान्समिसनको काम अन्तिम चरणमा पुगेको र अबको दुई हप्ताभित्रै भारतबाट थप १०० सय मेगावाट विजुली नेपाल आउने उनले जनाए। 
उनले पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गरिरहेको बताए। उनले भने,‘हुलाकी राजमार्गको नयाँ मोडेलमा कामहरु भैरहेको छ, हालैमात्र कैलालीमा उद्धघाट्न गरियो, अहिले तराई मधेशमा काम तिव्र गतिमा अघि बढिरहेको छ।’ उनले हुलाकी राजमार्ग र उर्जाको परियोजना सम्पन्न भएपछि विकासको आधार तय हुने विश्वास व्यक्त गरे। द्धिपक्षीय सम्झौताहरु कार्यान्वयन गर्न ढिलासुस्ती भए अब संयुक्त संयन्त्रले नै काम गर्ने समेत जिकिर गरे। 
त्यस्तै उनले नेपाल–भारत सम्बन्धमा राजनीतिक सम्बन्धको कुरा गर्ने हो भनेपनि यो वीचमा उच्च स्तरीय द्धिपक्षीय भ्रमणहरु भएको बताउँदै भने,‘नेपालका सम्माननीय प्रधानमन्त्री प्रचण्डजी दुई पटक भारत भ्रमणमा जानुभयो, परराष्ट्र डा. प्रकाशशरण महत पनि जानुभएको छ, त्यसैले द्धिपक्षीय सम्बन्ध थप मजबदु बनाउने प्रयास भैरहेको छ।’ उनले साँस्कृतिक तथा आर्थिक रुपमा पनि नेपाल–भारत सम्बन्ध तिव्र गतिमा अघि बढाउने प्रयासहरु भैरहेको जनाए। 
उनले नेपालले आर्थिक समृद्धि हाँसिल गर्नको लागि आर्थिक संभाव्यताहरुलाई बढावा दिनुपर्ने सुझाव दिए। उनका अनुसार नेपालका युवाहरु, जलविद्युत, पर्यटन नै नेपालको विकासको एडभ्यान्टेजहरु हुन्। आर्थिक समृद्धिको लागि सबै दलहरु एक ठाउँमा उभिए भने असंभव भन्ने कुरा केही पनि नहुने उनको भनाई थियो। 
नेपालको संविधान संशोधन प्रक्रियालाई भारतले कसरी हेरेको छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘समस्या समाधान होस् भन्ने हाम्रो चाहना हो, तर कसरी गर्ने, के गर्ने भन्ने कुरा नेपालकै राजनीतिक दलहरुले गर्ने कुरा हो, हामी त समृद्ध नेपाल, स्थिर नेपाल भएको हेर्न चाहन्छौं।’
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री