शनिबार, ८ वैशाख २०८१

पर्यटक साढे ७ लाख : अघिल्लो वर्षभन्दा ४० प्रतिशतले वृद्धि

समयपोष्ट २०७३ माघ ११ गते ३:२४

भूकम्प र नाकाबन्दीका कारण खस्किएको पर्यटक आगमनमा गत वर्ष भने उल्लेख्य सुधार देखिएको छ । सन् २०१६ मा पर्यटक आगमन अघिल्लो वर्षभन्दा ४० प्रतिशतले वृद्धि भएको  छ ।

Advertisement

सन् २०१६ मा हवाई र  स्थलमार्ग हुदै  ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ  छ । यो संख्या सन् २०१५ को भन्दा २ लाख १४ हजार ३२ ले बढी रहेको विभागले जनाएको छ । भूकम्प र नाकाबन्दीको चरम प्रभावका कारण सो वर्ष ५ लाख ३८ हजार ९ सय ७० पर्यटक नेपाल भित्रिएका थिए ।

पर्यटक आगमनको लहर हेर्दा भूकम्प र पाँच महिनाको लामो नाकाबन्दीले थला परेको पर्यटन व्यवसाय फेरि लयमा फर्कने संकेत देखिएको व्यवसायीहरू बताउँछन् । सन् २०१४ मा नै ७ लाख ९० हजार १ सय १८ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ ।

गत वर्ष अक्टोबर महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका छन् । यस महिना ८७ हजार ३ सय २६ पर्यटकले नेपाल भ्रमण गरेको अध्यगमन विभागको तथ्यांकमा उल्लेख छ । सबैभन्दा कम पर्यटक जुन महिनामा आएका छन् । यस महिना जम्मा ३६ हजार ८ सय ९७ मात्र पर्यटक आएका छन् ।

एक वर्षमा स्थल र हवाई मार्गबाट कुल १ लाख १८ हजार २ सय ४९ भारतीय पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । यस्तै, दोस्रो स्थानमा रहेका चिनियाँ पर्यटकको संख्या १ लाख ३ हजार ९ सय ८५ रहेको छ । तेस्रो स्रोत मुलुक श्रीलंकाबाट ५७ हजार ५ सय २१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यस्तै, अमेरिकी पर्यटकको संख्या ५३ हजार ६ सय ४५ छ भने बेलायतबाट ४६ हजार २ सय ९५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । “सन् २०१६ मा भारतीय र चिनियाँ दुवै पर्यटक आगमनमा उच्च बृद्धि भएकाले हाम्रो पर्यटन क्षेत्र अब दिगो विकासतर्फ पाइला चाल्दैछ भन्ने देखिन्छ,” नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदी भन्छन्, “सन् २०१७ मा यो संख्या अझै बढ्नेछ र यसले मुलुकको पर्यटन क्षेत्रलाई नै महत्वपूर्ण टेवा दिनेछ ।”

सन् २०१६ मा पर्यटक आगमन विवरण
महिना        संख्या 

जनवरी     :  ४०,२६०
फेब्रुवरी     : ५८,८७१
मार्च         :  ७४,४९४
अप्रिल      : ५८,२६२
मे            : ४४,७२८
जुन         : ३६,८९७
जुलाई      :  ४६,१६०
अगष्ट     : ६४,३८६
सेप्टेम्बर  : ७२,७२०
अक्टोवर  : ८७,३२६
नोभेम्बर  : ७१,०४०
डिसेम्बर  : ७४,४०६

आजको कारोबारबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री