सोमबार, ३ कार्तिक २०८२

सिद्धबाबा सुरुङमार्गको निर्माण अन्तिम चरणमा, माघको दोस्रो साता ब्रेक थ्रु गर्ने तयारी

समयपोष्ट २०८१ पुष २४ गते १५:३३

Advertisement

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सुरुङ खन्न ७.८ मिटर मात्र बाँकी रहेको छ भने ‘ब्रेक थ्रु’ का लागि डेढ मिटर खन्न बाँकी राखिने सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिने जानकारी सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले दिएका छन्। “सुरुमा ‘ब्रेक थ्रु’ माघ २ मा गर्ने तयारी थियो। तर, प्रधानमन्त्रीको समय नमिलेका कारण अब कुनै समस्या नआए माघ ८ मा कार्यक्रम गर्ने तयारी छ,” उनले बताए।

सुरुङमार्गको निर्माणले अहिलेसम्म ३८.८५ प्रतिशत प्रगति गरेको छ। मुख्य सुरुङको लम्बाइ १,१२६ मिटर रहेको छ। आपत्कालीन उपयोगका लागि तीनवटा ‘क्रस प्यासेज’ बनाइएका छन्, जसको कुल लम्बाइ ४४१ मिटर हो। यी सबै प्यासेजको निर्माण पूरा भइसकेको छ।

सुरुङ सिद्धबाबा मन्दिरनजिकैबाट सुरु भई पाल्पाको तिनाउ जलविद्युत् छेउमा समाप्त हुने गरी डिजाइन गरिएको हो। बारम्बार पहिरो खस्ने र दुर्घटनाको जोखिम बढेको यो क्षेत्रको वैकल्पिक समाधानका रूपमा सुरुङ निर्माण थालिएको हो।

Advertisement

२०७८ फागुनमा ठेक्का सम्झौता भएको यो परियोजना ०८३ फागुनभित्र पूरा गर्ने लक्ष्य छ। ठेक्का ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले पाएको हो। रुख कटान लगायतका कारण ढिलाइ भएको भन्दै निर्माण व्यवसायीले ९ महिना समय थप गर्न माग गरेका छन्। यो मागबारे निर्णय अझै भइनसकेको निर्देशक झाले जानकारी दिए।

सुरुङमार्ग निर्माणपछि यो क्षेत्रको यातायात सुरक्षित र सहज हुने आशा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री