बागलुङमा भारतको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको औपचारिक हस्तान्तरण
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको श्री भीमगिठे माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन आज औपचारिक रुपमा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।
उक्त भवन हस्तान्तरण समारोहमा जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमर बहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदानबाट उक्त विद्यालय भवन निर्माण गरिएको हो। यसलाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत जिल्ला समन्वय समिति, बागलुङमार्फत कार्यान्वयन गरिएको थियो।
नवनिर्मित विद्यालय भवनले श्री भीमगिठे माध्यमिक विद्यालयमा अध्ययनरत करिब ७०० विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न थप सहज बनाउनेछ। विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ, जसमा ५४ प्रतिशत छात्राहरु छन्। नयाँ संरचनाले शिक्षाका लागि उपयुक्त वातावरण सिर्जना गर्दै बागलुङ क्षेत्रको समग्र शिक्षा विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
सन् १९५८ मा प्राथमिक विद्यालयका रूपमा स्थापना भएको यो विद्यालय सन् १९६८ मा निम्न माध्यमिक र सन् १९८८ मा माध्यमिक तहमा स्तरोन्नति भएको हो।
कार्यक्रममा सम्बोधन गर्दै उपस्थित अतिथिहरूले भारत सरकारद्वारा नेपाली जनताको जीवनस्तर उकास्न निरन्तर दिइँदै आएको सहयोगको प्रशंसा गर्नुभयो। नेपाल र भारतबीचको गहिरो सम्बन्ध र बहुक्षेत्रीय सहकार्य लाई यस परियोजनाले थप बलियो बनाएको बताइएको छ।
भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनमार्फत नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्दै सहयोग गर्न प्रतिबद्ध रहेको कुरालाई यो परियोजनाले प्रतिबिम्बित गरेको छ।
प्रतिक्रिया