लक्ष्मी सन्राईज बैंकको अगुवाईमा अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनामा २१.४ अर्ब लगानीका लागि सहमति
लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. बीच लमजुङस्थित मर्स्याङ्दी नदीमा निर्माण गरिने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनामा २१.४ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।
अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनाको निर्माण लागत २१.४० अर्ब रुपैयाँ रहेको छ। यस आयोजनाबाट वार्षिक ५८३.०३ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ। आयोजनाले नेपालको नवीकरणीय ऊर्जा विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।
यस आयोजनाको प्रवर्द्धकको रूपमा के.सी. ग्रुप र क्याल ग्रुप रहेका छन्। आयोजनाले पुस १०, २०७५ मा विद्युत् विकास विभागबाट उत्पादन अनुमति पत्र प्राप्त गरिसकेको छ भने पुस ०९, २०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न गरेको छ।
परियोजनाको ७४.७७ प्रतिशत लागत सहवित्तीयकरणमा सहभागी बैंकहरूले उपलब्ध गराउनेछन् भने बाँकी २५.२३ प्रतिशत रकम कम्पनीका प्रवर्द्धक तथा संस्थापकहरूको लगानी हुनेछ। सहवित्तीयकरणमा लक्ष्मी सनराइज बैंकको ७ अर्ब, ग्लोबल आइएमई बैंकको ६ अर्ब र प्रभु बैंकको ३ अर्बसहित कुल १६ अर्ब रुपैयाँ लगानी रहनेछ।
आयोजना सन् २०२९ सम्ममा निर्माण सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने र यो आयोजना ठूला स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एकका रूपमा स्थापित हुनेछ।
अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनामा गरिएको सहकार्यले नेपालको ऊर्जा परिदृश्यमा नयाँ आयाम थप्ने र राष्ट्रिय ऊर्जा सुरक्षा सुदृढ गर्न मद्दत गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया