शुक्रबार, २१ वैशाख २०८१

आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण डिशहोममा

समयपोष्ट २०८० माघ ९ गते ११:१८


आजदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

Advertisement

पोखरा रंगशालामा हुने प्रतियोगिताको डिस होमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो । डिशहोम नेटवर्क र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्ड कास्टिङ पार्टनरका रुपमा रहनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

९ वटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले यसपटकको प्रतियोगितामा सहभागिता जनाउँदैछन् । उदघाटन खेलमा आयोजक सहारा र थ्री स्टार क्लब आमने–सामने हुनेछन् ।

प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच स्पर्धा हुनेछ । दुई ‘ए’ डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको भेट माघ १२ मा हुनेछ ।

साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।

Advertisement

विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रिक्वार्टर खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई पहिलो संस्करण देखि नै हिमश्री फुड्स प्रा। लि। को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ ।
पोखरा नगरपालिका प्रतियोगिताको संरक्षक रहेको छ । राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा युके, सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया र सहारा क्लब हङकङका सल्लाहकार एवं कानुन व्यवसायी देव गुरुङको विशेष सहयोग रहेको छ।

प्रतियोगिताको अफिसियल बैंक लुम्बिनी विकास बैंक तथा अफिसियल एयरलाइन्स बुद्ध एयर छन् । प्रतियोगिताका उत्कृष्ट ५ विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्राजोजन गरिएको छ ।

राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गरेका छन् । यस्तै म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरु सहारा युकेद्वारा सौजन्य हुने आयोजकको भनाइ छ ।

प्रतियोगिता सञ्चालन गरेर बचत हुन आउने रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीका लागि खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री