बिहीबार, १३ वैशाख २०८१

शुरु भयो कोरोनाभाइरसविरुद्धको खोप अभियान (फोटोफिचर)

समयपोष्ट २०७७ माघ १४ गते १२:१७

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गरेका हुन् ।

अभियानको सुरुवातसंगै पहिलो चरणमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाउनेछन् । पहिलो दिनमात्रै १२ हजारले यो खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले जानकारी दिए ।

काठमाडौं उपत्यकामा १७ वटासहित देशभर १ सय २० केन्द्रबाट कोरोना खोप दिइनेछ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ । शुक्रराज अस्पतालमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सफाइकर्मी गरी २६४ जनाले बुधबार खोप लगाउँदै छन् ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएको एक वर्षपछि नेपालीले खोप पाउँदैछन् । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहनेछन् । भारत सरकारको अनुदानमा यही माघ ८ गते १० लाख मात्रा उक्त खोप नेपाल आएको हो ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले आज ०.५ मिलीलिटर (मिली) मात्रा खोप प्रदान गरिने जानकारी दिए । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइने छ । खोप देव्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइने छ ।

खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने उनले बताए । खोप ज्वरो आएको वा कोभिड–१९ को लक्षण भएका वा अन्य सक्रिय सङ्क्रमण भएका अवस्थामा र गर्भवती वा सुत्केरी पहिलो खोप लगाउँदा एनाफाइलेक्सिस भएका दोस्रो मात्र नदिने गर्नुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री