शनिबार, ८ वैशाख २०८१

हुम्लामा विद्यालय भवन निर्माण गर्न भारतद्वारा रु.४.४१३ करोड आर्थिक सहयोग प्रदान

समयपोष्ट २०७७ पुष २२ गते १६:०४

Advertisement

भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जिल्लाको चंखेली–दार्मा स्थित श्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको यस परियोजनाका लागि भारत सरकारले नेरु.४.४१३ करोड आर्थिक सहयोग प्रदान गरेको हो ।

सन् १९७६ मा स्थापना भएको उक्त विद्यालय राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँग आबद्घ रहेको छ ।

साना विकास परियोजनाको नामले परिचित यस उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमले विशेष गरी नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक सुविधाहरुको निर्माणका क्षेत्रमा काम गरिरहेको छ ।

सो परियोजना अन्तर्गत भारतले सन् २००३ देखि नेपालका सातै वटा प्रदेशमा ४२८ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । यी मध्ये १४ वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् । जसमा हुम्ला जिल्लामा निर्माण सम्पन्न एक विद्यालय तथा चार विद्यालय निर्माण परियोजना विविधचरणमा रहेका छन् ।

‘नजिकका छिमेकी भारत र नेपालबीच मित्रता र सहयोगको अद्वितीय सम्बन्ध रहेको छ ।’ भारतीय दूताबासद्धारा जारी प्रेस नोटमा भनिएको छ, –‘प्राथमिकताको क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्नका लागि नेपाल सरकारको प्रयासलाई पूर्णता दिन भारत सरकारको निरन्तर प्रतिबद्घतालाई पनि दुई देशबीच सम्पन्न आजको यस सम्झौतापत्रले प्रतिबिम्बित गरेको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री