नेकपा हाईकमाण्डनै विभाजित

प्रतिनिधिसभाको रिक्त सभामुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय विभाजित भएको छ। तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको हो। नौ सदस्यीय सचिवालयमा तत्कालीन एमाले खेमाबाट केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन माओवादी केन्द्र खेमाबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्।

Advertisement

सरकारलाई सहयोग गर्ने र प्रधानमन्त्रीलाई समेत काम गर्न सहज हुने वातावरण तयार गर्न तत्कालीन एमालेकै तर्फबाट सभामुख उम्मेदवार बनाउनुपर्छ भन्ने पक्षमा प्रधानमन्त्रीसमेत रहेका ओली, उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल र महासचिव पौडेल छन्। पार्टी एकता र शक्ति सन्तुलनका हिसाबले उचित हुने दाबी गर्दै कार्यकारी अध्यक्ष दाहाल र प्रवक्ता श्रेष्ठ तत्कालीन माओवादी केन्द्रका नेतामध्ये एकलाई सभामुख बनाउनुपर्ने पक्षमा छन्। खनाल र नेपाल तथा पार्टी प्रस्तावित उपाध्यक्ष गौतम भने दुई अध्यक्षले नै उम्मेदवारको टुंगो लगाउनुपर्ने भन्दै तटस्थ बसेका छन्। सचिवालयका अर्का सदस्य एवं गृहमन्त्रीसमेत रहेका थापा मौन छन्।

‘दुई अध्यक्षसमक्ष सभामुख पदका लागि सर्वसम्मत उम्मेदवारको प्रस्ताव ल्याउन खनाल, नेपाल र गौतमले आग्रह गरेका छन्। त्यसबाहेक उनीहरूले सभामुखका विषयमा खासै चासो देखाएका छैनन्,’ स्रोतले भन्यो। कार्यकारी अध्यक्ष दाहालले पूर्वमाओवादी नेताहरूमध्ये एकजनालाई उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए। तर प्रधानमन्त्री ओलीले भने अघिल्लोपटक सरकारको काममा समेत बाधा उपत्पन्न भएकाले पूर्वएमालेबाटै उम्मेदवार तय गर्न प्रस्ताव गरेका थिए। ‘दुई अध्यक्षबीच धेरैपटक यस विषयमा छलफल भएको छ। निर्णय गर्न उहाँहरूलाई हामीले छुट दिएका छौं। तर संसद्लाई नै बन्धक बनाउनेगरी उहाँहरू अहिलेसम्म निर्णय गर्नबाट चुकिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने।

पार्टी स्थायी कमिटीको बैठक बस्दै गर्दा दाहाल निवासमा सम्पन्न छुट्टै बैठकमा समेत सहभागी भएका पार्टी प्रवक्ता श्रेष्ठले कार्यकारी अध्यक्ष दाहाललाई साथ दिँदै आएका छन्। उनी पनि बैठकमा पार्टी एकताको मर्म र भावनाविपरीत जान नहुने भन्दै सभामुख पूर्वमाओवादी केन्द्र समूहले पाउनुपर्ने दाबी गर्छन्। पूर्वमाओवादीकै तर्फबाट गृहमन्त्रालय सम्हालिरहेका थापा भने पछिल्लो समय यो विषयमा मौन छन्। सुरुमा उनी पूर्वमाओवादी केन्द्र समूहको नेतृत्व गरेर कार्यकारी अध्यक्ष दाहालको निवासमा ‘डेलिगेसन’ गएका थिए। उनले त्यतिबेला सभामुख पूर्वमाओवादी समूहले पाउनुपर्ने र त्यसका लागि अध्यक्ष दाहालले अन्तिम समयसम्म पहल गर्नुपर्नेमा जोड दिएका थिए। त्यसपछिको सचिवालय बैठकमा उनले कुनै पक्षमा पनि मुख खोलेका छैनन्।

‘दुई अध्यक्षले आफ्नो दाबी नछाडेपछि थापा भने आफ्नो पक्षका दुई उम्मेदवार देव गुरुङ र पम्फा भुसालमध्ये एकलाई प्रस्ताव गर्न चाहन्छन्,’ स्रोतले भन्यो। नागरिक दैनिकले खबर छापेकाे छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री