
पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आफ्नो तलबभत्ताबाट स्थानीय गुंगा माविमा अध्ययनरत विपन्न बालबालिकालाई जाडोको न्यानो कपडा सहयोग गर्नुभएको छ ।
अध्यक्ष बस्यालले गरिब, विपन्न परिवारका बालबालिका जाडोमा कपडा अभावले विद्यालय नियमित नजाने गरेको पाइएपछि नियमित विद्यालय जान हौसला दिन ५७ जनालाई न्यानो कपडा सहयोग गरेको बताउनुभयो ।
“न्यानो कपडा अभावमा कोही पनि बालबालिका जाडोमा शिक्षाबाट वञ्चित नहुन् भनी न्यानो कपडा सहयोग गरेको हुँ, मैले अहिलेसम्म बुझेको तलव भत्ता सामाजिक क्षेत्रमा नै खर्चिएको छु”, अध्यक्ष बस्यालले भन्नुभयो । चिसोयाममा न्यानो कपडा विद्यालयमा नै आएर बालबालिकालाई प्रदान गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपेन्द्रप्रसाद खनालले धन्यवाद दिनुभयो ।
अध्यक्ष बस्यालले गाउँपालिकाको धार्मिक, पर्यटकीय क्षेत्रको विकास, विपन्न, बोेटे समुदायका बालबालिकाको पठनपाठन, गरिब, असहाय परिवारको औषधि उपचारमा सहयोग गर्दै आउनुभएको छ । आफूले पाएको तलवभत्ताबाट गाउँपालिकाकाभित्रका विपन्न वर्र्ग, गरिब, असहायलाई न्यानो कपडा, लामो समयसम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्युसँग लडिरहेका असहाय बिरामीको औषधि उपचारमा खर्चनुभएको छ ।
निर्वाचनका बेला जनताका घरदैलोमा पुगेर उहाँले आफूले पाउने तलबभत्ता सामाजिक क्षेत्रमा खर्चने वाचा गर्नुभएको थियो । आफूले पाउने सबै तलबभत्ता पाँच वर्षभित्रमा सामाजिक क्षेत्रमा मात्र खर्च गरी गाउँपालिकाभित्रका गरिबी हटाउन सहयोग पुग्ने उहाँको धारणा छ ।रासस










प्रतिक्रिया