भानुभक्त प्राणी उद्यानको डिपिआर तयार हुँदै , १२६ घरधुरी प्रभावित हुँने

भानुभक्त प्राणी उद्यानले १२६ घरधुरीलाई प्रभावित बनाउने भएको छ । उद्यान निर्माण गर्न व्यास नगरपालिकाको वडा नं ११, १२ र भानु नगरपालिकाको वडा नं ५, ६ का चार वडागरी ९१२ रोपनी जग्गा अधिग्रहणमा परेपछि ती घरधुरी उद्यानबाट प्रभावित हुन लागेका हुन ।

Advertisement

उद्यानका प्रमुख वीरेन्द्रप्रसाद कँडेलले प्रभावित क्षेत्रका सबै बासिन्दाले मुआब्जा दाबीको निवेदन दिइसकेका जानकारी दिनुभयो । जिल्लाको व्यास नगरपालिका–१२ छिर्कनमा रहेको कार्यालयले आयोजनाको विस्तृत प्रतिवेदन (डिपिआर) तयारी समेत अगाडि बढाएको छ । यसका लागि रु दुई करोड बजेट निकासा भएको उहाँले बताउनुभयो ।

पूँजीगत विकास बजेटबाट तारबार तथा सिमानामा बाटो निर्माणको लागि रु चार करोड २२ लाख, दृष्य अवलोकन केन्द्र निर्माणको लागि रु २५ लाख, कर्मचारी आवास भवन निर्माण रु ५० लाख कार्यालय भवन निर्माणको लागि रु एक करोड ६० लाख बजेट रहेको जनाइएको छ ।

सङ्घीय सरकारको उद्यान निर्माणमा प्राथमिकता रहेको छ । प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापन गरी पर्यटन क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले सरकारले सातवटै प्रदेशमा प्राणी उद्यानको अवधारणा ल्याएको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले विकास निर्माण तथा दैनिक प्रशासनिक कामकाज सञ्चालनको लागि करिब रु नौ करोड बजेट निकासा भई काम शुरु भएको प्रमुख कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूँजीगत खर्चतर्फ रु आठ करोड ६४ लाख ८० हजार र चालू खर्चतर्फ रु ३३ लाख ७९ हजार बजेट गरी रु आठ करोड ९८ लाख ५९ हजार बजेट विनियोजन भएको छ । अन्य रकम खानेपानी, बाटो निर्माणको लागि खर्च गरिने भएको छ । गत वर्ष रु छ करोड ७९ लाख २२ हजार पूँजीगत र चालूतर्फ रु ४४ लाख प्राप्त भएको कार्यालयले जनाएको छ ।

Advertisement

मन्त्रिपरिषद्को विसं २०७३ माघ २० गतेको बैठकले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको स्मृति भानुभक्त प्राणी उद्यान स्थापना गर्ने निर्णय गरेको थियो । प्राणी उद्यानको मुख्य कार्यालय भवन बहुवर्षीय कार्यक्रमअन्तर्गत निर्माण कार्य शुरु गरिएको छ । मुआब्जा व्यवस्थापनको लागि जग्गा अधिग्रहण कार्य अघि बढाइएको सो कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको नेतृत्वमा बनेको मूल्याङ्कन समितिले जग्गा अधिग्रहण गर्ने व्यक्तिको जग्गाको मूल्याङ्कन गरी मुआब्जा वितरण गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनका गर्नको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना रहेको छ । प्रशासनिक भवन, बालबालिकाको मनोरञ्जनात्मक चिल्ड्रेन पार्क, वन्यजन्तु राख्ने स्थानको निमार्ण, भेटेरिनरी क्लिनिक, प्रवेशद्वार, बाटो पुलपुलेसा, मनोरेल केवलकारलगायतका आवश्यक पूर्वाधार निर्माण गरिने छ । ४२५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा वन्यजन्तुलाई परस्थानीय संरक्षण गरिने छ ।

पर्या–पर्यटन प्रवद्र्धन, आमोदप्रमोद/मनोरञ्जन, वन्यजन्तुको प्रजनन, वंशाणु स्रोतको संरक्षणमा चैतना फैलाउने, तथा टुहुरा, घाइते, समस्याग्रस्त वन्यजन्तुको उचित व्यवस्थापन गर्ने लक्ष्य रहेको छ । हात्ती, गैँडा, बाघ, भालु, जिराउलगायतका जनावर देश तथा विदेशबाट ल्याएर उद्यानमा संरक्षण गर्ने योजनासमेत रहेको कार्यालयले जनाएको छ । भानुप्राणी उद्यान तनहुँवासीको लागि गौरबको विषय रहेकाले काम अघि बढ्न थालेसँगै त्यस क्षेत्रका बासिन्दा उत्साहित भएको भानु नगरपालिकाका नगरप्रमुख उदयरराज गौलीले बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री