सोमबार, ५ साउन २०८२

नेपालको आफ्नै भू–उपग्रह अमेरिकाबाट प्रक्षेपण

समयपोष्ट २०७६ वैशाख ५ गते ७:०९

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह आज विहानै अमेरिकाबाट प्रक्षेपण गरिएको छ । नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’गरिएको अन्तरिक्ष निकाय नासाले जनाएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार आज बिहीवार बिहान २.३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो।

सिग्नोस कार्गो अन्तरिक्ष यानले आईएसएससम्म पुर्‍याउने काम गर्नेछ । उपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म आईएसएसमै रहने छ । स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीले पुनः स्याटेलाइट परीक्षण गर्नेछन् । मे तेस्रो सातामा स्पेस स्टेसनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिने कार्यतालिका रहेको नास्टले जनाएको छ ।

उपग्रह निर्माणका लागि नेपालका तर्फबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए ।

२०७४ असोज २८ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट क्युटेकसँग समझदारी भएपछि उपग्रह निर्माण सुरु भएको थियो । पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर पृथ्वीभन्दा करिब ४ सय किलोमिटरमाथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५र१० मिनेटसम्म रहने ढकालले बताए ।

स्याटेलाइटमा ४३७ मेघाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ । ‘नेपाली स्याट–१’ नानो भू–उपग्रह हो । लम्बाइ, चौडाइ र उचाइ १०र१० सेन्टिमिटर छ । यसको पहिलो काम तस्बिरहरू खिचेर पठाउनु हो । नानो स्याटेलाइट निर्माणबाट प्राप्त अनुभवलाई ठूला भू–उपग्रहहरू निर्माणमा प्रयोग गर्न सकिने नास्टले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री