नागरिक समाजद्वारा विद्यालय अनुगमन
नागरिक समाजको तर्फबाट सिद्धलेक गाँउपालिकाको आधारभूत विद्यालय र माध्यमिक विद्यालयको शिक्षा क्षेत्रको सेवाप्रवाहको निगरानी गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजनाको पहलमा बुधबार नागरिक समाजले तीन विद्यालयमा अनुगमन गरेको हो ।
भौतिक संरचनाअन्तर्गत भवन र कक्षाकोठाको प्रयोग र सजावट अवस्थाबारे अवलोकन गरिएको थियो । त्यसैगरी विद्यालय हाताको फोहर व्यवस्थापन र सरसफाइको अवस्था र पाठ्यसामग्रीसहित पुस्तकालय र यसको प्रयोगबारे अवलोकन गरिएको थियो । विद्यार्थीको सिर्जनात्मक क्रियाकलाप प्रदर्शन गर्ने स्थान उपलब्धता र प्रयोगको अवस्था, खानेपानीको उपलब्धता कस्तो छ ? र पानीसहितको अपाङ्गमैत्री, छात्रामैत्री, सेनीटरी प्याड प्रयोग र डिस्पोजल गर्ने व्यवस्था कस्तो छ भनी अवलोकनमा अध्ययन गरिएको थियो ।
जवाफदेहिताअन्तर्गत वार्षिक कति दिन विद्यालय खुलेको, पठनपाठन भएको जम्मा दिन, वार्षिक बिदा, सरदर एक हप्तामा कति समय एउटा शिक्षकले अध्यापन गराउनुपर्ने, कक्षागत रूपमा सिकाइ उपलब्धि टाँस गरे÷नगरेको, कमजोर विद्यार्थीका लागि अतिरिक्त शिक्षण व्यवस्थाको अवस्था, पाठ्यपुस्तकको उपलब्धता, शैक्षिक कार्ययोजना निर्माण र कार्यान्वयन, गुनासो सुनुवाइको व्यवस्थालगायतका बारेमा स्थलगत अवलोकन गरी शिक्षकसँग छलफल गरिएको थियो ।
अनुगमनको अन्तमा विद्यालय सुधारको योजनाअनुसार कार्य गर्न विद्यालयका शिक्षक तथा अभिभावकलाई सुझाव दिइएको थियो ।
डेक नेपालको पारस्पारिक जवाफदेहिता परियोजनाअन्तर्गत गरिएको विद्यालय अनुगमन कार्यक्रममा गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा, शिक्षा शाखा प्रमुख भुवन केसी, गाउँपालिका सल्लाहकार टङ्कनाथ तिमल्सिना र नागरिक समाजको तर्फबाट रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, नारी जागरण केन्द्रकी अध्यक्ष भगवती उप्रेती, दलित सेवा सङ्घका अध्यक्ष श्याम मगराती, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बेदबहादुर खाँण र पिजन खबरका सम्पादक गोमा थापाको सहभागिता रहेको थियो ।
जनप्रतिनिधिसहितको नागरिक समाजको अनुगमन टोलीले सिद्धलेक गाउँपालिकाको गोल्मारानी आधारभूत विद्यालय, जलेश्वरी माध्यमिक विद्यालय र मिन्दुका माध्यमिक विद्यालयको अनुगमन गरेको हो ।
सार्वजनिक सुनुवाइ
अर्काको मुख हेर्न छाडी आफ्नो घरवरपर क्षेत्रको सरसफाइ आफैँ गर्ने बानी बसाल्न नगरवासीसँग निलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले आग्रह गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले लैङ्गिक हिंसा कार्यक्रम, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रणको अवस्था र सार्वजनिक सुनुवाइसम्बन्धी एकसाथ आयोजना गरेको कार्यक्रममा नगरवासीले नगरभित्र रहेको विभिन्न समस्याप्रति ध्यानाकर्षण गराउँदा नगरप्रमुख ढुङ्गानाले समस्या समाधानका लागि भइरहेको प्रयास माथि प्रकाश पार्दै त्यस्तो आग्रह गर्नु भएको हो । कार्यक्रमका सहभागीहरुले धादिङबेसी बीचबजारमा रहेको बसको टिकट काट्ने काउन्टरको समस्या, सार्वजनिक शौचालयको समस्या, डम्पीन साइड र बजार सरसफाइको समस्या ट्रार्फिक व्यवस्थापन , घर अगाडि निर्माण सामग्री राख्ने, पसल थाप्ने, राती अबेरसम्म होटेल खुल्ला राख्ने, फुटपात हुँदाहुदै सडकमै पैदल यात्रु हिड्ने , सुरक्षित वधशालाको अभाव प्रति नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
प्रहरी उपरिक्षक राजकुमार वैधवारले जिल्ला प्रहरी कार्यालयबाट सम्पादन गरिएको क्रियाकलापबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जनताको सहयोग र साझेदारीबाट प्रहरीले सम्पादन गर्दै आएको कार्य प्रभावकारी रहेको बताउनु भयो । कार्यक्रममा यातायात क्षेत्रबाट बद्री सुवेदी, उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री , नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया