छालाका बिरामीमध्ये ६० प्रतिशतमा ‘टिनिया’ रोग
पश्चिम नेपालका अधिकांश जिल्लाबाट उपचारका लागि छालाका बिरामी नेपालगञ्जमा आउने गर्छन् । यसखाले समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दो रूपमा रहेको चिकित्सक बताउँछन् ।
स्वास्थ्यका बारे जनचेतना नभएकाले, सरसफाइमा ध्यान नदिँदा सङ्क्रमणबाट ढुसी (फंगस) बढी देखा पर्ने गरेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका चिकित्सक डा कुमार पोखरेलले बताए।
मेडिकल भाषामा ‘टिनिया’का नामले परिचित यो रोगका कारण ६० प्रतिशत नागरिक पीडित भइरहेका छन् । यसमा दुबी, दादलगायतका सबै रोग पर्ने चिकित्सकको भनाइ छ । नेपालमा कुष्ठरोग छैन भन्ने दाबी गरिए पनि पश्चिम क्षेत्रमा कुष्ठरोग अत्यधिक देखिएको छ ।
नेपालगञ्जका ठूला भनिएका अस्पतालमा कुष्ठरोगका बिरामी अहिले पनि आइरहेका छन् । कुष्ठरोग अरु छालाको रोगसँग मिल्दोजुल्दो देखिने भएकाले अरु सामान्य सङ्क्रमण हो भनेर आफैँ औषधि प्रयोग गरिरहेको चिकित्सक बताउँछन् । कतिपय बिरामी अस्पतालको पहुँच बाहिर रहनुका साथै जिल्लामा छालाका विशेषज्ञ चिकित्सकको अभावमा आफूखुशी मेडिकलमा गई मलहम किनेर लगाउने गर्दै आएका छन् । लामो समय बितेपछि जब हातखुट्टा झमझम गर्छ, नसा दुख्छ, लुलो हुन्छ तब अस्पतालमा आउने गरेको भेटिएको भेरी अञ्चल अस्पतालले जनाएको छ ।
नेपालगञ्जका अस्पतालमा कुष्ठरोगबाहेक अन्य छालाका सङ्क्रमणबाट हुने रोगी पनि आउने गरेका छन् । पहिलेभन्दा अहिले छालासम्बन्धी चासो लिएर जाँच गराउनेको सङ्ख्या बढेको छ । अहिले त नेपालगञ्जमा भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा छालाका विशेषज्ञ चिकित्सक पनि छन् ।
नेपालमा बढी देखिने पाँच रोगमध्ये एक छालासम्बन्धी भएको डा पोखरेल बताँउछन् । उनी भन्छन्, “नेपालमा छाला रोगको समस्या धेरै छ । कूल जनसङ्ख्याको २५ प्रतिशतमा कुनै न कुनै र पाँच प्रतिशतलाई कडा खालको रोग छ जसको तत्काल उपचार जरुरी छ ।” उनका अनुसार यो रोग मौसमअनुसार पनि मानिसमा देखिन सक्छ ।
डा पोखरेलका अनुसार पछिल्लो समय शहरीकरणले उब्जाएको फोहर, धूलो, धुवाँ र प्रदूषणले छालालाई गम्भीर असर पारिरहेको छ ।
“छालाका समस्यालाई सामान्य ठानियो र समयमै सही उपचार गरिएन भने त्यसले पछि क्यान्सरको रुप लिन सक्ने खतरा पनि रहन्छ”, डा पोखरेलले भने ।
नेपालमा कति मानिसलाई छालाको समस्या छ भन्ने हालसम्म एकिन तथ्याङ्क भने रहेको पाइँदैन ।रासस
प्रतिक्रिया