बहुमूल्य धातुको बेनामी कारोबारमा प्रतिबन्ध, अटेर गरे एक करोड रुपैयाँसम्म जरिवाना

आन्तरिक राजस्व विभागले सुनचाँदी तथा डायमन्ड, प्लाटिनम, सफायरलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने सबै व्यवसायीलाई बेनामी वा काल्पनिक नाममा कारोबार गर्न पूर्ण रूपमा बन्द गरेर व्यावसायिक कारोबार केवल संस्थाको आधिकारिक बैंक खाताबाट मात्र गर्न कायम गर्न कडा निर्देशन जारी गरेको छ।

“सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण निर्देशन, २०८२” अनुसार अब सुनचाँदी व्यवसायीले व्यक्तिगत खाता, आफ्ना कर्मचारी, परिवारका सदस्य वा कुनै तेस्रो व्यक्तिको खाता प्रयोग गर्न पूर्ण निषेध गरिएको छ। एकै पटक १० लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्दा ग्राहकको बैंक खाताबाटै भुक्तानी लिनुपर्नेछ भने नगद कारोबारमा कडाइ गरिएको छ।

Advertisement

विभागले उच्च पदस्थ व्यक्ति, तिनका परिवारका सदस्य र नजिकका सम्बन्धीहरूको पहिचान गरी नियमित रूपमा विवरण अद्यावधिक गर्न, वास्तविक धनीको पहिचान गर्न र शंकास्पद वा अस्वाभाविक कारोबारमा विशेष निगरानी राख्न पनि अनिवार्य गरेको छ। संयुक्त राष्ट्रसंघ वा गृह मन्त्रालयले तोकेका व्यक्ति वा संस्थाको सम्पत्ति सूची प्रकाशित भएको २४ घण्टाभित्रै रोक्का राख्ने व्यवस्था समेत निर्देशनमा समेटिएको छ।

यो निर्देशन नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टबाट हटाउन सरकारले बनाएको दुईवर्षे कार्ययोजनाको महत्त्वपूर्ण हिस्सा हो। यसअघि ३० असोज २०८२ मा जारी निर्देशनलाई अहिले संशोधन गरी अझ कडा बनाइएको विभागले जनाएको छ।

निर्देशन उल्लंघन गरेमा कानुनबमोजिम कारबाहीसँगै एक करोड रुपैयाँसम्म जरिवाना हुने स्पष्ट पारिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री