सोमबार, २१ असोज २०८१

सेसेल्समा विस्फोटक पदार्थ भण्डारमा विस्फोट, दर्जनौँ घाइते

समयपोष्ट २०८० मंसिर २१ गते २१:०३

Advertisement

सेसेल्समा बिहीबार एउटा विस्फोटक भण्डारमा भएको ठूलो विस्फोटमा ६६ व्यक्ति घाइते भएको र भवनहरू भत्किएको छ । विस्फोटपछि मुलुकका राष्ट्रपतिले सङ्कटकाल घोषणा गर्नुभएको छ ।

राष्ट्रपति वाभेल रामकलावानले सर्वसाधारणलाई घरमै रहन आदेश दिनुभएको छ । द्वीप समूह सेसेल्स रमणीय सेतो समुद्री तट र उच्चस्तरीय पर्यटनका लागि प्रसिद्ध छ । यो मुलुक भारी वर्षाका कारण बाढी र पहिरोको चपेटामा समेत छ । बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

विस्फोट हिन्द महासागरको सबैभन्दा ठूलो टापु माहेमा रहेको प्रोभिडेन्स औद्योगिक क्षेत्रमा भएको र घटनास्थल तथा वरपरका क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ । “ विस्फोटपछि सिसिसिएल विस्फोटक भण्डारमा ठूलो क्षति भएको छ र भारी वर्षाका कारण आएको बाढीबाट ठूलो क्षति भएपछि राष्ट्रपतिले आज एक दिनका लागि सङ्कटकालको घोषणा गर्नुभएको छ”, विज्ञप्तिमा भनिएको छ, “सबै विद्यालय बन्द हुनेछन्, अत्यावश्यक सेवाका कर्मचारी र यात्रा गर्ने व्यक्तिहरूलाई मात्र आवतजावत गर्न अनुमति दिइने छ, यसबाट आपत्कालीन सेवाहरूलाई आवश्यक काम गर्न अनुमति प्राप्त हुनेछ ।”

बिहान हुनुभन्दा अघि भएको विस्फोटको आवाज धेरै किलोमिटर टाढासम्म सुनिएको थियो र विस्फोटको शक्तिले वरपरका घर, बैंक र पसलका झ्यालहरू फुटेका छन् । “म बिहानै पुग्दा छक्क परेँ, प्रहरी र सेनाले उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका छन्”, पत्रकार सम्मेलनमा राष्ट्रपति रामकलावानले भन्नुभयो, “६६ व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ ।”

Advertisement

टेलिभिजनमा प्रसारित फुटेजमा दुर्घटनास्थलमा फुटेका सिसा र सिट धातुको भग्नावशेष यत्रतत्र फैलिएको देखाइएको छ । “धेरै मानिस स्तब्ध छन्, हामी उनीहरूलाई मनोवैज्ञानिक सहयोग प्रदान गर्ने प्रयास गर्नेछौँ”, राष्ट्रपतिले भन्नुभयो । उहाँका अनुसार दिउँसो विस्फोट भएको भए धेरै मानिस हताहत हुनसक्थे ।

मुलुकको विस्फोटक पदार्थको भण्डारण मापदण्डको पुनरमूल्याङ्कन गर्ने वाचा गर्दै उहाँले भन्नुभयो, “सेसेल्सले आज एउटा पाठ सिकेको छ र हामीले परिस्थिति परिवर्तन गर्न केही गर्नुपर्छ ।” प्रहरीले विस्फोटको कारणको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री