मंगलबार, ११ वैशाख २०८१

देउवा सरकारले मुलुकमा संस्थागत ठगी गरेको महेश बस्नेतको गम्भीर आरोप

समयपोष्ट २०७९ पुष १६ गते १६:२८

Advertisement

नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कांग्रेस सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस सांसद आरजु राणा देउवा र निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणमाथि ठूला आयोजनामा अरवौंको चलखेल गरेको गम्भीर आरोप लगाएका छन् ।

आरजु र खाँणहरुले निर्वाचनपछि पनि आफूहरुकै सरकार बन्ने भन्दै ठूला आयोजनाको ठेक्का दिने भनेर अग्रिम रुपमा ६/७ अर्ब रुपैयाँ बुझेको र अहिले सरकारबाट बाहिरिएकोले फिर्ता गर्नुपर्ने अवस्थामा पुगेको बस्नेतको आरोप छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले देउवा नेतृत्वको यसअघिको सरकारलाई ‘भाउजुको सरकार’ भन्ने मानक रहेको पनि स्मरण गराए । उनले भने,‘देउवा सरकारले विकास निर्माणको पनि केही काम गरेको थिएन । ठूला–ठूला आयोजनाको सन्दर्भमा चाहे त्यो एनसेलको सन्दर्भ होस, चाहे त्यो सूर्यविनायक–धुलिखेल सडकको सन्दर्भ होस, यी तमाम सनदर्भमा अरवौं पैसाको सेटिङ थियो । भाउजुको सरकार अथवा आरजु देउवाज्यू, अथवा बालकृष्ण खाणजीलगायतका साथीहरुको सेटिङमा अब सरकार बन्नेछ र मिलोमतोमा तपाईँहरुलाई ठेक्कालगायत दिन्छौं भनेर ६÷७ अर्ब उहाँहरुले लिनुभएको छ र अहिले त्यो पैसा चाहीँ फिर्ता गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ भन्ने कुरा अहिले चर्चामा आएको छ ।’

नेता बस्नेतले यसअघिको देउवा सरकारले मुलुकमा संस्थागत ठगी गरेको गम्भीर आरोप लगाए । उनले भने,‘विशेषगरेर भन्सार भएका जिल्लाहरुमा सिडिओ, एसपीहरु सबै सुरुवाहरु सेटिङमा हुने गर्दथ्यो । भन्सार प्रमुखहरु सेटिङमा हुने गर्दथे । र, वैद्य च्यानलबाट सामानहरु आयात नगरी अवैध च्यानलबाट सामान आयात गर्ने, भन्सार छली गर्ने र राजश्व छली गर्ने काम भएको थियो । एक ढंगले भन्ने हो भने राज्य संस्थागत ठगी धन्दामा संलग्न भएको थियो । जसको कारण हाम्रो अर्थतन्त्र टाँट पल्टिएको थियो । पुँजीगत खर्च न्यून भैरहेको छ । आजको अर्थमन्त्रीलाई समेत चूनौति थपिदिएर उहाँहरु जानुभयो ।’ उनले यसअघिको सरकारप्रति व्यंग्य गर्दै ‘मेकिङ आरजु देउवा, नट मेकिडङ नेपाल’ भएको टिप्पणी गरे ।
बस्नेतले आफूले त्यतिकै यो विषय नउठाएको भन्दै छानबिन गर्न अहिलेको सरकारसमक्ष माग गरेका छन् । उनले भने,‘विगतमा हाम्रोबारेमा पनि प्रश्न उठ्यो । ती सबै विषयमा छानबिन गरियोस । प्रधानन्यायाधीशमाथि महाभियोग लगाईयो, उहाँ कार्यकाल सकेर जानुभयो । संसद् मर्यो, तर उहाँको महाभियोग जिवित छ । ओम्नी प्रकरणको पनि छानबिन गरोस । वाईडबडी, एनसेल, सुन तस्करीको पनि व्यापक छानबिन गरोस । अहिले मैले उठाएको कुरा पनि छानबिन होस । अब सरकारले ढाकछोप गर्दैन् । राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरणबाट मुक्त गर्ने हो भने गम्भीर रुपमा छानबिन गर्नुपर्छ । अख्तियार, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण यी निकायलाई शक्तिशाली बनाउनुपर्छ । यो हाम्रो सुझाव हो ।’
उनले आफूहरु वामपन्थीहरुबीच एकताको लागि सक्रिय भएको पनि विश्वास दिलाए । उनले भने,‘हामीले भर्खरै आम निर्वाचन सम्पन्न गरेका छौं । नयाँ जनादेश लिएर हामी अघि बढेका छौं । निर्वाचनअघि हाम्रो आँकलन एक्लै बहुमत ल्याउने थियो । तर, त्यस्तो भएन । समानुपातिक मतमा प्रथम भयौं । ७ मध्ये ६ प्रदेशमा हामी प्रथम दल भयौं । ५० प्रतिशत पपुलर मत ल्याउँछौं भन्ने थियो । यो निर्वाचनले एउटा गम्भीर समिक्षा गरेर अघि बढ्न भनेको छ ।’
बस्नेतले पूराना दलप्रति जनताको केही वितृष्णा देखिएको पनि उल्लेख गरे । र, जनताको पूराना दलप्रतिको आक्रोशको कारण स्वतन्त्र, जनमत पार्टीहरु नयाँ ढंगले उदाउने परिस्थिति बनको उनको दाबी छ । उनले भने,‘अब वामपन्थीहरुबीचको एकता नै नेपाली जनताको चाहना हो । समानुपातिकको मत जोड्दा वामपन्थीहरुको मत दुई तिहा हुने, तर सरकार बनाउन बहुमत नपुग्ने अवस्था छ, हामी वामपन्थी गठबन्धन निर्माण गर्ने अभियानमा लाग्यौं । त्यसमा सफलता मिलेको छ ।’
यसअघिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सत्ताकेन्द्रित रहेको उनको टिप्पणी छ । उनले भने,‘त्यो सत्ताकेन्द्रित गठबन्धन थियो, त्यहाँ समस्या हुनु स्वभाविक थियो । देउवाको गठबन्धन दिगो थिएन । विकासको काम पनि भएको थिएन । प्रधानमन्त्री पहिलो चरणमा कसलाई बनाउने भनेर विवादको कारण त्यो गठबन्धन टुट्यो । केपी ओलीले आफूर्ल अब्बल खेलाडी सावित गर्नुभयो । उहाँले आफूलाई राजनेताको भूमिकामा उभ्याउनुभयो । वाम गठबन्धन, र विचार र व्यवहार मिल्नेसँग नेतृत्वदायी भूमिका खेल्नुभयो । अहिले सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको पनि नेतृत्व गरिरहनुभएको छ। अहिले यो गठबन्धन प्राकृतिकतर्फउन्मुख छ ।’
उनले अब नेपालको राजनीति अस्थिरतातर्फ नजाओस भन्नेतर्फ सबै सचेत हुनुपर्ने सुझाव दिए । उनले भने,‘मन्त्री नपाउने साथीहरुले दल नफोडोउन् । दलहरु ठूलो बनाउने दिशामा गयौं भने राजनीतिक स्थिरता हुनेछ । अहिले अढाई वर्ष प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । त्यसपछि केपी ओली बन्नुहुन्छ । विगतमा सहमतिहरु गोप्य हुने गर्दथे, तर अहिले यो सहमति सुरुमै सार्वजनिक भएको छ ।’
उनले नेपालको कम्युनिष्टको हिसाबले सबैभन्दा ठूलो दल भएकोले एमाले र यसको नेतृत्व केपी ओलीले मुलुकलाई सही दिशामा लैजानको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘हामी वाम गठबन्धन हुँदै एकता प्रक्रियासम्म लैजानुपर्छ भन्ने पक्षमा छौं । हाम्रो श्रद्धय अध्यक्ष कमरेडले जनतामा पलाएको आशाको दियोलाई निभ्न दिनुहुँदैन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री