बिहीबार, १५ चैत २०८०

‘हाइब्रिड’ को प्रयोगले रैथाने बाली लोप हुँदै

समयपोष्ट २०७९ मंसिर २० गते १४:३७

Advertisement

उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने (स्थानीय) बाली लोप हुन थालेका हुन् ।
ढिलै भए पनि रैथाने बालीको बीउ संरक्षणमा जोड दिने गरी वालिङस्थित वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले अभियान अगाडि बढाएको छ । वालिङ तथा आसपासका क्षेत्र स्याङ्जा, पर्वत र पाल्पाका विभिन्न भागमा पुगेर स्थानीय जातका खाद्यान्न तथा तरकारी बालीका बीउ सङ्कलन गर्दै आइएको उक्त संस्थाका अध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो ।
वालिङ नगरपालिका, दियालो संस्था र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा उक्त संस्थाले सो अभियान चलाएको हो । “हामी आधुनिकतातर्फ लम्कदै ‘हाइब्रिड’ जातका बीउ लगाउँदै गर्दा हाम्रा पुराना बालीका बीउ लोप हुँदै गएका छन्”, उहाँले भन्नुभयो, “रैथाने बालीको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा बेलैमा ध्यान दिइएन भने भोलिका दिन बीउमा पनि परनिर्भर हुनुपर्ने अवस्था आउन सक्छ ।”

स्याङ्जा जिल्लाका अधिकांश भागसहित पाल्पा, पर्वत र गुल्मीका केही भागमा पुगेर रैथाने जातका बालीका बीउ सङ्कलन अभियानलाई जारी राखेको उहाँले बताउनुभयो ।
“रैथाने बालीको संरक्षण अभियानअन्तर्गत विभिन्न ठाउँमा पुगेर खाद्यान्न तथा तरकारी बालीका हालसम्म ५८ प्रजातिका बीउ सङ्कलन गरेका छौँ । अझै निरन्तररुपमा खोजी जारी राख्छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “सङ्कलित बीउलाई कृषि विज्ञको सहयोगमा प्रयोगशालामा परीक्षण गरी कृषकलाई फिर्ता गर्ने र उत्पादन भएको बीउ फेरि संस्थाले खरिद गरी बीउ बैंककारुपमा अगाडि बढाउने लक्ष्य छ ।”

अन्य बीउ तथा प्राङ्गारिक मलसहित लोप हुँदै गएका बाली संरक्षणलाई प्राथमिकतामा राखेर बीउको संरक्षण गर्दै अगाडि बढ्ने लक्ष्य रहेको युनडिपीका गण्डकी, लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नाका साथै उत्पादित बस्तुको बजारीकरण र सर्वसुलभ उपलब्ध गराउन जोड दिइने छ ।” संस्थासँगको सहकार्यमा गड्यौला मल उत्पादन तथा बजारीकरण पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री