शुक्रबार, १६ चैत २०८०

रातारात दाङ सारियो लुम्बिनी प्रदेशको राजधानी

समयपोष्ट २०७९ मंसिर २० गते १०:५२

Advertisement

बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत सरसामान दाङ सारिएको छ ।

स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला रातारात मन्त्रालयहरू दाङ सारिएको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा मध्यरातमा तीनवटा ट्रकमा सामान लोड गरी दाङ पुर्‍याइएको बताईएको छ ।

यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पुर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालय नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो । नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित चार सांसद लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले संयुक्त प्रेस विज्ञप्तिमार्फत नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालय सार्ने कार्य तत्काल रोक्न माग गरेको थियो ।

यसअघि नै गृहमन्त्री बालकृष्ण खाणले जबर्जस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर ल्याउने चेतावनी दिएका थिए । गृहमन्त्री खाणले हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई फोन गरेर सचेतसमेत गराएका थिए ।

मध्यराति सुटुक्क मन्त्रालय सार्ने मुख्यमन्त्रीको कदमले प्रदेशमा राजनीतिक द्वन्द्व बढाउने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री