शुक्रबार, ७ वैशाख २०८१

नेकपामा बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने, ओली पक्ष दौडधुपमा

समयपोष्ट २०७७ मंसिर २० गते ८:०६

Advertisement

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नुअघि नै दुई अध्यक्षबीच सहमतिको आधार खोज्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको दौडधुप चलेको छ। पार्टीको बैठकमा बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने अवस्था आएपछि ओली पक्षले सहमतिको आधार खोज्न दौडधुप थालेको हो।

कात्तिक २८ गते सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिएर नयाँ प्रकारको सहमतिको बिन्दु खोज्न ओली पक्षका नेताहरूले आग्रह गरे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मानेका छैनन्। राजनीतिक भवष्यमाथि नै दाग लाग्नेगरी दाहालले ओलीविरुद्ध आलोचनात्मक प्रस्ताव राखेपछि ओलीले पनि मंसिर १३ गते त्यसको लिखित प्रत्युत्तर फर्काएका थिए। त्यसपछि झनै चिढिएका दाहालले आफ्नो प्रस्ताव पार्टीको कमिटीमा छलफल गराउने र त्यसलाई पास गराएरै छाड्ने अडान लिएपछि ओली समूहका नेताहरूले त्यसलाई फिर्ता गराएर संयुक्त दस्तावेज प्रस्तुत गर्नुपर्ने बताउँदै आएका छन्।

मंसिर २० गते शनिबार बैठक बस्नुअघि ओली पक्षका नेताहरूले पटकपटक भेटर छलफल गरे पनि दाहाल पक्षले उनीहरूका कुरा सुन्न पनि चाहेको छैन। ‘जे हुन्छ बैठकबाटै हुन्छ, निर्णय फिर्ता गर्नुपरे बैठकबाटै हुन्छ,’ दाहालले भनेका थिए। तर ओली पक्ष केही दिन बैठक सारेर भए पनि सहमतिको आधार खोज्ने क्रममा रहेको जनाइएको छ। दाहालले राखेको प्रस्ताव फिर्ता गराएर संयुक्त दस्तावेजको पक्षमा ओली पक्ष रहेको छ।

बिहीबार र शुक्रबार दुई दिन नै ओली पक्षका नेताहरूले संयुक्त दस्तावेज नआए पार्टी एकता धरापमा पर्ने भएकाले कात्तिक २८ गते प्रस्तुत गरिएको प्रस्ताव फिर्ता गरी नयाँ दस्तावेज ल्याउन र त्यसका लागि केही दिन बैठक पर सार्न आग्रह गरेका छन्। तर दाहाल आफूले राखेको प्रस्ताव फिर्ता गर्ने सोचमा नदेखिएपछि सहमतिको अर्को आधार नभएको भन्न थालिएको छ। महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अध्यक्ष दाहालसँग भेटघाट गरी मनाउने प्रयास गरेका थिए। साथै उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेलले खुमलटार पुगेर दाहाललाई मनाउने कोसिस गरेका थिए। तर दाहालले अडान छाडेका छैनन्। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री