शुक्रबार, ७ वैशाख २०८१

पहिलो केन्द्रीय सहकारी बजारको शुरुआत

समयपोष्ट २०७७ मंसिर १९ गते १८:०६

Advertisement

पहिलोपटक सरकारी र सहकारी साझेदारीमा काठमाडौँ महानगरपालिका–६ चाबहिलस्थित सरस्वतीनगरमा केन्द्रीय सहकारी बजारको शुरुआत भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) को सहयोगमा कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडले करिब रु सवा करोडको लागतमा बजार सञ्चालनमा ल्याएको हो । सन् २०१८ फेबु्रअरीमा शुरु भएको सहकारी बजार विकास कार्यक्रम (सिएमडीपी) ले चितवन, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट र धादिङ गरी छ जिल्लाका १८ स्थानीय तहमा काम शुरु गरेपछि आज राजधानीमा पहिलो बजार सञ्चालनमा ल्याएको हो ।

बजार उद्घाटन गर्नुहुँदै सहकारीमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरे पनि बजारको समस्या भोगिरहेका बेला बजार उचित मूल्य दिलाउन सहयोग गरिने बताउनुभयो । सरकार र सहकारी हाम्रो साझेदारी भन्ने नाराका साथ यो कार्यक्रमलाई वाग्मती प्रदेशबाट अन्यमा पनि विस्तार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “बचत तथा ऋण परिचालन गर्ने सहकारी धेरै भएकाले एकीकरण गरिनुपर्छ, सहकारी कृषि, फलफूल, पशुपालनमा पनि लाग्नुपर्छ, सहकारीले यी क्षेत्रबाट गरेका उत्पादनको बजारीकरण गर्न यस्ता केन्द्र ठाउँठाउँमा खोलिनुपर्छ”, मन्त्री अर्यालले भन्नुभयो ।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले किसानको बजारका बीच सहकारीले पुलको काम गरेपछि उपभोक्तासमेत लाभान्वित हुने भएकाले यो कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले २० केन्द्र सहकारी सङ्घमध्ये १३ कृषि क्षेत्रकै रहेकाले किसानका उत्पादनको उचित मूल्य दिनसमेत यस्ता प्रवद्र्धन हुनुपर्ने बताउनुभयो । सहकारी बजार विकास कार्यक्रमका प्रमुख सुमनशेखर मानन्धरले पहिलो चरणमा छ जिल्लाको १८ पालिकाका १४ हजार ४०० घरधुरी किसान लाभान्वित हुने गरी कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो ।

हाल छ जिल्लाका १८ पालिकाका ५० सहकारीले तरकारी सङ्कलन केन्द्र स्थापना गरेको पनि उहाँले बताउनुभयो । आगामी दिनमा ललितपुरलगायत कार्यक्रम लागू भएका छवटै जिल्लामा सहकारी बजार स्थापना गर्ने तयारी भइरहेको छ । सङ्कलन गरिएका तरकारी ढुवानी गर्न गत आर्थिक वर्षमा कार्यक्रमले पालिकाका सहकारीलाई २८ सवारी साधानसमेत वितरण गरेको छ । चालु आर्थिक वर्षमा पनि २५ साधन वितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम प्रमुख मानन्धरले बताउनुभयो ।

बजारमा थोक तथा खुद्रा दुवै व्यापार गरिने छ । सहकारीबाट सिधै बजारमा ल्याइने तरकारी र फलफूल बजारमा पाइने मूल्यभन्दा सस्तोमा ग्राहकले किन्न पाउने बजारका सञ्चालक हरिप्रसाद प्याकुरेलले बताउनुभयो । एक महिना अघिदेखि खुद्रा बजार शुरु गरिएकामा केही दिनमा थोक बजार शुरु गर्न चार वटा सटरसमेत सञ्चालनमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री