शुक्रबार, ७ वैशाख २०८१

७४ प्रतिशत जनसङ्ख्या खानेपानीको पहुँचमा

rss २०७७ मंसिर १८ गते १३:११

Advertisement

खानेपानीको भरपर्दो स्रोत नभएका कारण गाउँमा समस्या थियो । इनारको पानीले गुजारा चलाउनुपथ्र्यो । गर्मीमा विस्तारै इनारको पनि सुक्दै जाँदा समस्या हुन्थ्यो । अहिले गाउँमा पानीको धाराको लागि पाइप विस्तार भएपछि स्थानीयवासी खुशी भएका छन् । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा खनिएको बोरिङको पानी गुरुवागाँउ, बेरुवागाउँ र गुरगैका मानिसले उपभोग गर्नेछन् । रु दुई करोडको लागत ५३ लाखले जनश्रमदानमा आयोजनाको काम धमाधम भइरहेको उपभोक्ता समितिका अध्यक्ष बामदेव शर्माले बताउनुभयो ।

“डिभिजन खानेपानी तथा सरसफाइ संस्था दाङले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै गाउँ–गाउँमा खानेपानीको धारा जडान गर्न थालेको छ । जसबाट उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका छन् । बोरिङ खनेर पानी आइसकेको छ पाइप विच्छ्याउने काम सम्मपन्न भइसकेको छ”, शर्माले भन्नुभयो । तीन वर्षे योजनाअनुसार काम थालनी गरिएको हो । पाइप विस्तार भइसकेपछि ओभरहेड ट्याङ्कीमा पानी जम्मा गरेर सिधैँ उपभोक्ताको धारामा पु¥याउने लक्ष्य रहेको शर्माले जानकारी गराउनुभयो । गाउँका २०० घरधुरीलाई पहिलो चरणमा पानी पु¥याउने उद्देश्यले पाइपलाइन विस्तार भइसकेको छ । यो भन्दा अघि गाउँमा पानीको निकै समस्या रहेको शर्माले बताउनुभयो ।

जसोतसो गुजारा चलाए पनि गर्मीको समयमा पशु चौपायलाई पानी पुग्दैनथ्यो । पानीको सधैँ समस्या हुन्थ्यो, अब पानीको समस्या टरेको उपभोक्ता समितिका उपाधक्ष्य बिमला रिजाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पानीको समस्या धेरै थियो खानेपानीका लागि बनाइएका इनार सुक्थे, नुहाउन र कपडा धुन समस्या थियो, पानी विस्तारले धेरै खुशी भएका छौँ ।”

घोराही–६ गुरगैका हिमाल चौधरीले गर्मीयाममा इनारको पानी सुकेर खानेपानीको समस्या थियो, खानेपानी योजनाको लागि लागत सहभागितामा रकम उठाउन र जनश्रमदान गर्न गाह्रो भए पनि धारामा पनि आउने भएपछि खुशी भएको बताउनुुन्छ । दाङमा दुई वर्षको अवधिमा साढे ६ हजार बढी घरमा खानेपानी धारा जडान गरिएको छ । तीन वर्षभित्र जिल्लामा एक घर, एक धारा पु¥याउने प्रदेश सरकारको सङ्कल्पअनुसार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले दुई वर्षको अवधिमा ६ हजार ७७४ घरमा खाने पानीका लागि धारा जडान गरेको हो ।

कार्यालयले गत वर्ष ५ हजार ४७४ घरमा र यस वर्षको प्रथम चौमासिकमा एक हजार २०० गरी साढे ६ हजार ७०० बढी घरमा धारा जडान गर्न सफल भएको हो । सङ्घीय संरचनामा कार्यालय स्थापना भएको दुई वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा खानेपानीको धारा जडानसँगै घरमै खानेपानी सुविधा पु¥याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोखरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “करिब दुई वर्षको अवधिमा पाँच वटा आयोजना सम्पन्न गरेर धारा पु¥याएका छाँै ।” कार्यालय प्रमुख पोखरेलका अनुसार हालसम्म घोराही–५ को सङ्गुरेमा ४०४, घोराही–१७ को धाइरेखुटीमा एक हजार ११४, बङ्गलाचुली गाउँपालिका–८ हाँसिपुरमा ३९७, बङ्गलाचुलीकै कुइजातापामा ३१९ र लमही नगरपालिका–१ नर्र्तीमा ३ हजार दुई ४० धारा जडान गरिएको छ ।

यस वर्ष करिब जिल्लाका ११८ खानेपानी आयोजनामध्ये ३५ प्रतिशत खानेपानी आयोजना सम्पन्न गरेर उपभोक्तालाई हस्तान्तरण गर्ने लक्ष्य रहेको पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश खानेपानी आयोजनाको बोरिङ खन्ने, ट्याङ्की निर्माणलगायत काम सकिएका छन् । अब ट्याङ्कीबाट उपभोक्ताको घरसम्म पानी लैजानका लागि पानी जडान गर्न बाँकी छ । ती योजना बजेट अभावमा रोकिएका छन् ।” मन्त्रालयले बजेट दिए जतिसक्यो चाँडै काम सकिने उहाँले बताउनुभयो ।

त्यसैगरी लुम्बिनी प्रदेश सरकारको ११८ खानेपानी आयोजना निर्माणकै चरणमा रहेकामा यस वर्ष करिब ३० बढी खानेपानी आयोजना सम्पन्न गर्ने तयारी छ । बाँकी रहेका योजना अर्को वर्ष पूरा गर्ने लक्ष्य छ । जिल्लामा करिब ७४ प्रतिशत जनसङ्ख्या आधारभूत तहको खानेपानीको पहुँचमा रहेका छन् । दाङ कार्यक्षेत्र रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङअन्तर्गत सङघीय र प्रदेश सरकारका २६७ वटा खानेपानी योजना निर्माणका क्रममा छन् । उक्त खानेपानी योजनाका लागि प्रदेश सरकारले रु ४८ करोड बढी बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री