बुधबार, १२ वैशाख २०८१

को बन्ला बीमा समिति अध्यक्ष ? यी हुन् चर्चामा रहेका एक दर्जन नाम

समयपोष्ट २०७७ मंसिर १८ गते १२:३४

Advertisement

बीमा कम्पनीहरुको नियामक बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंको कार्यकाल पुस १४ गते सकिदैँ छ ।

चापागाईंको कार्यकाल सकिने दिन नजिकिदै गर्दा समितिको अध्यक्षको आकाङ्क्षीहरु पनि बढ्दै गएका छन् । चापागाईं अझै एक कार्यकाल दोहोर्‍याउन चाहिरहेका छन् भने अन्य केहीले आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन्। आगामी अध्यक्षका लागि राष्ट्र बैंकका बहालवाला डेपुटी गभर्नरदेखि पूर्वएमाले निकटका आकांक्षीहरुसम्म समितिको अध्यक्ष बन्न दौडधुप गरिरहेका छन् ।

नेपाल राष्ट्र बैङ्कका डेप्युटी गर्भनर चिन्तामणि शिवाकोटीले गभर्नरको पद नपाएपछि उनी समितिको अध्यक्ष बन्न इच्छुक देखिएको बुझिन्छ । उनलाई प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् । प्रधानमन्त्रीनिकट भएकाले गभर्नरको पद नपाएका शिवाकोटीले समितिको अध्यक्ष पाउन सक्ने सम्भावना देखिएको छ ।

यस्तै चर्चाको केही नामहरु चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाइँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पूर्व अध्यक्ष टंक पनेरु, राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल हुन् ।

यसअघि समितिको अध्यक्षको दौडमा रहेका डा. रवीन्द्र घिमिरेको नाम पनि चर्चामा छ । तर उनले आफु राजनीतिक तहबाट सपोर्ट पाउनसक्ने अवस्थामा त अध्यक्ष बन्न नसकेको र अहिले आफ्नो माथिल्लो राजनीति साइनो कसैसँग नभएको बेला अध्यक्ष बन्न नसकिने बताउँछन् । डा. रवीन्द्र घिमिरे पोखरा विश्वविद्यालयका एशोसिएट प्रोफेसर हुन् ।

यस्तै कर्मचारी सञ्चयकोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य पनि समितिको अध्यक्षको लबिङमा रहेको चर्चा छ । नेपाल पुनर्बीमा कम्पनीका संस्थापक सिइओसमेत भइसकेका रमेश लम्साल पनि अध्यक्षका आकांक्षी हुन् । समितीको अध्यक्षका लागि राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गङ्गाराम कँडेल, बीमा कम्पनीको कार्यकारी निर्देशकबाट नियुक्त पाएका श्रीमान् कार्की, बिजय शाहलगायतको नाम समेत चर्चामा छ ।

बीमा समिति बीमा कम्पनीहरुको नियामक निकाय हो। अहिले १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। यी सबैको नियमन तथा सुपरिवेक्षण बीमा समितिले गर्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री