शुक्रबार, १६ चैत २०८०

युद्धस्तरमा वितरण प्रणाली बनाइँदै कोरोना खोप

समयपोष्ट २०७७ मंसिर १८ गते ८:०८

Advertisement

विश्वभरि दशौं लाख आपूर्तिको प्रतिबद्धता जनाएको चीनले कोभिड–१९ विरुद्धको खोप भण्डारणको बलियो तयारी गरेको छ । दक्षिणी चीनको शेनजेन शहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको एक कुनामा सेता च्याम्बरबाहिर लगाइएको पर्दामा भित्रको तापक्रम देखाइएको छ ।
सुरक्षा कामदारहरु सर्जिकल गाउन, अनुहार ढाक्ने मास्क र रबरको पञ्जा लगाएर बाहिर पहरा दिदैछन् । उक्त च्याम्बरभित्र प्रवेश गर्ने जो कोहीले कम्तिमा दुई साताको क्वारेन्टिन पुरा गरेको हुनुपर्ने वा टाउकोदेखि पैताला ढाक्ने पहिरन लगाएको हुनुपर्ने ब्यवस्था गरिएको छ ।
३५० वर्गमिटरमा फैलिएको तापक्रम नियन्त्रित कोठाहरुमा छिट्टै चीनले विकास गरेको खोपले भरिभराउ हुनेछ । चिनीयाँ औषधि नियामक निकायले खोपको स्वीकृति दिएपछि विमानस्थलको उक्त च्याम्बरमा खोप लगिनेछ । त्यहाँबाट जेटसम्म पुर्याउँदा तापक्रम नियन्त्रित उपकरण सहित विश्वका विभिन्न स्थानमा आपूर्ति गरिनेछ ।

चीनले तेस्रो चरणको ट्रायल गरेको राष्ट्रहरुमा सयौं लाख खोप आपूर्ति गर्ने तयारी गर्दैछ । चिनीयाँ नेतृत्वले खोपको सफलतापूर्बक परीक्षणपछि थुप्रै राष्ट्रमा आपूर्तिको प्रतिबद्धता समेत जनाएका छन् । खोप आपूर्ति गर्ने विश्वब्यापी अभियानले भएको सीएनएनले उल्लेख गरेको छ ।
चिनीयाँ परराष्ट्र नीतिलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय प्रभाव कायम गर्ने उपकरणको रुपमा चीनले खोपको प्रयोग गर्न सक्ने वाशिंगटनस्थित परराष्ट्र सम्बन्धमा विश्व स्वास्थ्य हेर्ने यान्झोंग हुआगं बताउनुहुन्छ । महामारीको सुरुवाती चरणमा चीनले मास्क र अन्य स्वास्थ्य उपकरण तथा सामग्री सहयोगमा उपलब्ध गराएर सद्भाव बनाउने प्रयास गरेको थियो । तर उक्त स्वास्थ्य सामग्रीको कमजोर गुणस्तरलाई लिएर पुनः चीनमाथि दोष लागेपछि वेइजिंगले कोरोनाभाइरसको अध्याय अन्त मोड्न खोजेको आरोप लागेको थियो । वेइजिंगको खोप कुटनीतिले पुनः एकपटक अवसर दिएको हुआंग बताउनुहुन्छ ।

चीनले हाल चारवटा कम्पनीको पाँचवटा कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परीक्षण गरिरहेको छ । खोप परीक्षणको अन्तिम तथा सबैभन्दा महत्वपूर्ण चरणमा प्रवेश गरेर खोप विकासकत्र्ताले नियामक निकायबाट अनुमति लिने अवस्थामा पुगेको छ । चीनले हालसम्म १६ राष्ट्रमा खोपको प्रभावकारिता र स्वास्थ्य सुरक्षाबारे तेस्रो चरणको परीक्षण गरिरहेको छ । बदलामा चीनले सफलतापूर्बक परीक्षणपछि खोपमा छिटोभन्दा छिटो पहुँच हुने प्रतिबद्धता गरेको छ ।

वेइजिंगस्थित सिनोभ्याक बायोटेकले ब्राजिललाई चार करोड ६० लाख र टर्कीलाई पाँच करोड डोज उपलब्ध गराउने सम्झौता गरेको छ । इन्डोनेसियामा उत्पादनका लागि सिनोभ्याकले चार करोड डोज बराबरको कच्चा खोप उपलब्ध गराउने सम्झौता गरेको छ ।
क्यानसिनो बायोलोजिक्सले मेक्सिकोलाई तीन करोड ५० लाख डोज खोप दिने सम्झौता गरेको छ । चिनीयाँ सेनाको अनुसन्धान इकाईले उक्त खोप विकास गर्दैछ ।

चीनको सरकारी स्वामित्वको नेशनल फर्मास्युटिकल्स ग्रुप(सिनोफार्म) को इकाई नेशनल बायोटेक ग्रुप(सीएनबीजी)ले खोप आपूर्तिको सम्झौताका लागि कम खुलेको छ । सीएनबीजीको दुईवटा खोप विभिन्न दश राष्ट्रमा तेस्रो चरणको परीक्षणमा छन् । अधिकांश मध्यपूर्ब र दक्षिण अमेरिकी राष्ट्र छन् ।

यूएईका शासक शेष मोहम्मद बिन राशिद अल मख्तौम समेत उक्त खोपको ट्रायलमा स्वयंसेवीको रुपमा सहभागी हुनेछ । उक्त खोप आकस्मिक प्रयोगका लागि अनुमति समेत पाइसकेको छ । एमिराती कम्पनीले सिनोफार्मसँगको समन्वय र साझेदारीमा सात करोड पचास लाखदेखि एक अर्ब डोज खोप उत्पादन गर्ने अपेक्षा गरेको छ ।

सिनोफार्मका अध्यक्ष लिउ जिंगझेनले पछिल्लो महिना दर्जनौं राष्ट्रले कम्पनीको खोप खरिदका लागि आग्रह गरेको बताउनुभएको थियो । उहाँले कुन राष्ट्रले कति डोज खोप किन्न प्रस्ताब गरेको सम्बन्धमा केही खुलाउनुभएन । यद्दपी उहाँले सन् २०२१ मा सीएनबीजीले एक अर्बभन्दा बढी खोप उत्पादन गर्न सक्षम रहेको बताउनुभएको थियो । आजको गोरखापत्र दैनिकमा सीएनएनको समाचारमा आधारित यो सामाग्री इश्वरचन्द्र झाले लेखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री