दाना–खुर्कोट प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा, सबस्टेशनमा जडान गरिएका उपकरणको परीक्षण हुँदै
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको विद्युत प्रसारण लाइन आयोजनाको सबै टावर निर्माण सकिएको छ । प्रसारण लाइनको तार तान्ने र सबस्टेशनमा जडान गरिएका उपकरणको परीक्षण अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत दाना र खुर्कोटमा सबस्टेशनका साथै प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुर्याएको हो । आयोजना प्रमुख चन्दनकुमार घोषले ११० मध्ये सबै टावर निर्माण भइसकेको जानकारी दिनुभयो ।
“टावर ठड्याउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान गरिएको छ”, उहाँले भन्नुभयो, “फिनिसिङ र परीक्षण सकेपछि एक हप्ताभित्र प्रसारण लाइन र सबस्टेशन सञ्चालन गर्न सकिन्छ ।” दानाबाट खुर्कोटसम्म करिब ३९ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण भएको हो । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्कोटमा सबस्टेशन निर्माण भएको हो ।
प्रसारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना दुई वर्ष वर्ष ढिला गरी सकिन लागेको हो ।
पोखरेबगर क्षेत्रमा जग्गाधनीसँगको विवाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण दुई वर्षपछि धकेलिएको हो । धेरै समयको प्रयासमा पोखरेबगरको विवाद समाधान गरेर आयोजना निर्माण गर्ने वातावरण बनाएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।
आयोजना निर्माणसँगै ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । थापाखोला र घलेम्दी यसअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुनसकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले प्रसारण लाइन र सबस्टेशनसँगै सञ्चालन गर्ने तयारीमा छ । प्रसारण लाइन र सबस्टेशन बनेपछि अनुमति लिएर बसेका अन्य आयोजनाले पनि गति लिने अध्यक्ष पुनले बताउनुभयो ।
प्रतिक्रिया