शुक्रबार, १६ चैत २०८०

मात्र १५ प्रतिशत् सकियो पाँच बर्षअघि निर्माण थालिएको भ्यूटावरको काम, निर्धारित समयमा नबन्ने निश्चित

समयपोष्ट २०७७ मंसिर १७ गते १०:५७

Advertisement

शर्मिला पाठक
करिब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ । निर्माण शुरु गरेको पाँच वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको काठमाडौँ महानगरपालिका (कामपा)ले नै स्वीकार गरेको छ ।

कामपा, निजी साझेदारी एकाइका पूर्वप्रमुख धु्रव काफ्लेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था पनि छैन, जेनतेन काम गरिरहेको छ । नियमानुसार सम्झौताको पूरा अवधि कामपाले कुर्नुपर्छ काफ्लेले भन्नुभयो । सम्झौताअनुसार काम हुने हो भने अहिले त कम्तीमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो, त्यो अवस्था भने छैन ।

अहिले जमिनमुनिको काम सकिएको छ भने जमिनमाथि पिलर राख्ने काम भइरहेको छ । समग्रमा १५ प्रतिशतभन्दा बढी काम भएको छैन । दैनिक १०० कामदारले काम गरिरहेका छन् । कामपाले जमिनमुनिको काम सम्पन्न गर्नका लागि नियमानुसार गत वर्ष चैतमा एक वर्षको लागि समय थप गरिसकेको छ ।

समयमा नै सक्ने गरी काम गर्ने भए अहिलेसम्ममा आठ तलाको काम सम्पन्न गरिसक्नुपर्ने हो । उक्त टावर जमिनमाथि ११ र जमिनमुनि तीन तला निर्माण गर्ने सम्झौता भएको थियो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोइ विल्डर्स प्रालिबीच विसं २०७१ फागुन २२ मा सम्झौता भएको थियो । कम्पनीले निर्माणको काम भने २०७३ साउन ३० गतेबाट शुरु गरेको हो । सम्झौतानुसार आगामी साउन महिनासम्ममा सक्नुपर्ने हो, तर त्यो अवस्था भने छैन ।

सम्झौतानुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् । काफ्लेका अनुसार उक्त स्तम्भ निर्माणको योजना भूकम्पअघि नै आएको र भूकम्पपछि निर्माणसम्बन्धी फरक निर्णय हुँदा केही समय काम गर्ने वातावरण थिएन । “पछि काम गर्ने वातावरण हुँदा पनि काम गरेको पाइँदैन, अर्को कम्पनीलाई दिइहाल्ने अवस्था पनि छैन । कम्पनीले कामपालाई शुरुको समयदेखि नियमितरूपमा बुझाउनुपर्ने सम्झौताअनुरुपको कर दिइरहेको छ”, प्रमुख काफ्लेले भन्नुभयो ।

नियमानुसार सम्झौतानुसार निर्धारित समयमा नै काम नसकेमा एकपटक दुई वर्षका लागि समय थप्न मिल्छ । गोरखा भूकम्पपूर्वको योजना स्तम्भ २९ तला बनाउने थियो । निर्माणको लागत रु चार अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बस पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका गाडी पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । सो अग्लोघर नेपाली कला संस्कृति झल्किने खालको हुनेछ । टावर निर्माण भएर सञ्चालनमा आए पाँच हजार ५०० व्यक्तिले रोजगारी प्राप्त गर्ने बताइएको छ ।

समयमा नै काम सम्पन्न गर्ने गरी २०७२ कात्तिक २५ गते उपराष्ट्रपतिबाट भवनको शिलान्यास भएको थियो । नियमानुसार निर्माण कम्पनीले काम गरेमा पहिले दिएको भन्दा एकपटक एक वर्षको लागि समय थप गर्न मिल्ने छ ।

दृश्यावलोकन स्तम्भ निर्माण गर्नका लागि बसपार्कबाट आवतजावत गर्ने सवारी साधनलाई खुलामञ्चमा सारिसकिएको छ । केही समयका लागि तय गरिएको बसपार्क साँघुरो हँुदा यातायातका साधनले खुम्चिएर आवतजावत गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री