शनिबार, ९ साउन २०७८

पार्टी एकतामा ओली-दाहाल अडिग, कति सजिलो छ एकता ?

समयपोष्ट २०७४ पुष ९ गते ०:५१

एमाले-माओवादी मूल नेतृत्व पार्टी एकतामा दृढ देखिएको छ। पार्टीका अन्य केही नेता विपक्षमा उभिन खोजे पनि नेतृत्व भने एकतामा अडिग देखिएको हो।

Advertisement

यो खबर आजको अन्नपूर्ण पोष्टमा रामकृष्ण अधिकारीले लेखेका छन ।एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका अभिव्यक्ति र कार्यशैलीले पनि एकतामा आशंका गर्ने ठाउँ साँघुरिँदै गएको नेताहरू बताउँछन्।

पार्टीभित्र असन्तुष्टिको आवाज मुखरित हुन नदिन ओली-दाहाल दुवैले गरेको खबरदारीले पनि एकताप्रतिको आशंकालाई साँघुरो बनाउँदै लगेको छ। माओवादीभित्र सुषुप्तरुपमा उठ्न थालेको असन्तुष्टिलाई शनिबार मात्रै दाहालले भैरहवाको एक कार्यक्रममार्फत खबरदारी गरेका छन्। ‘को नेताले के भने त्यसको पछि नलाग्नुस्, एमाले-माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान् तर हामी सबै इमान्दार छौं, गम्भीर छलफल गरेर एकता टुंग्याउँछौं।’

Advertisement

गोपाल किराँती, विश्वभक्त दुलाल (आहुति) लगायत केही नेताले एकताको विपक्षमा बोल्न थालेपछि दाहालले त्यस्तो टिप्पणी गरेका हुन्। बरु उनले नेता-कार्यकर्तालाई त्यही कार्यक्रमबाट भने, ‘एकताका लागि तपाईंहरूले पनि नेतृत्वलाई बल दिनुस्।’

ओलीले पनि तीन दिनअगाडि काठमाडौंको एक कार्यक्रममा आफ्नै नेताहरूलाई खबरदारी गर्दै भनेका थिए, ‘एकताको विरोधमा कसैले जिब्रो निकाल्न सक्छन् तर रोक्न सक्दैनन्।’

शीर्ष नेता नै सकारात्मक रहेका कारण अब दुई पार्टी एकतामा आशंका गर्ने ठाउँ नरहेको माओवादी पोलिटब्युरो सदस्य हेमराज भण्डारीले बताए। पार्टी एकता संयोजन समितिको बैठक बस्न भइरहेको ढिलाइले भने अझै आशंका जन्माइरहेको छ। शनिबार एकता संयोजन समितिको बैठक बस्ने नेताहरूले बताए पनि तीन दिन पछि सरेको छ। अब समितिको बैठक ११ गते मात्रै बस्ने माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। माओवादी अध्यक्ष दाहाल आइतबार र सोमबार दुई दिन गृहजिल्ला चितवनको कार्यक्रममा ब्यस्त रहने भएकाले बैठक सरेको हो।

कति सजिलो छ एकता ?

मूल नेतृत्व दृढ देखिए पनि विचार, राजनीति, संगठन, नेतृत्व, कार्यविन्यास र सरकारलगायत विषय अब बस्ने एकता संयोजन समितिले टुंगो लगाउनुपर्ने देखिन्छ।

‘वैचारिक राजनीतिक लाइन तयार पार्ने, संगठनात्मक रुपमा संरचनाहरू कस्तो र कसरी निर्माण गर्ने र एकीकृत पार्टी बनाउने भन्ने विषय टुंग्याउनुपर्ने हुन्छ,’ नेता श्रेष्ठले भने, ‘त्यसपछि आन्तरिक विधान बनाउने र पार्टी एकता गर्नेसम्मको विस्तृत खाका बनाउनुपर्छ।’

त्यसैको एजेन्डासहितको तयारी अबको बैठकमा हुने नेताहरूको भनाइ छ। एकताका लागि मिलाउनुपर्ने जटिल पक्ष भनेकै नेताहरूको व्यवस्थापन देखिन्छ। स्रोतका अनुसार अहिलेसम्म मुख्य नेतृत्वको व्यवस्थापनका विषयमा सामान्य रुपमा छलफल चले पनि औपचारिक निर्णयमा पुगिसकिएको छैन। त्यसपछिका नेताको व्यवस्थापनका विषयमा भने अहिलेसम्म छलफलै चलेको छैन।

वैचारिक पक्षका रूपमा यी दुई पार्टीले समाजवादको मोटो खाकालाई आधार बनाएर जाने संकेत गरेका छन्। समाजवादको आधार तयार पार्ने रणनीतिक लक्ष्यमा एमाले-माओवादीले एकता गर्न चाहेका छन्। त्यसको तत्कालीन कार्यक्रम र नीतिमा उनीहरूले समृद्धि, सुशासन र जनजीविकाका विषयलाई मुख्य विषय बनाएर जाने संकेत गरेका छन्। चुनावी घोषणापत्रमा पनि उनीहरूले त्यही कुरामा जोड दिएका थिए।

इतिहासको मूल्यांकनका विषयमा भने एकताका क्रममा दुई पार्टीबीच केही अन्तर देखा पर्नसक्ने छन्। तर त्यसमा पनि ठूलो खड्को आइनलाग्ने माओवादी पोलिटब्युरो सदस्य हेमराज भण्डारीले बताए। ‘जनताले पार्टी एकताको एजेन्डालाई निर्वाचनमार्फत अनुमोदन गर्‍यो भन्नेमा अहिले नेताहरू आइपुग्नुभएको छ। त्यसैले पनि अब सिद्धान्तको धेरै बहसभन्दा जनताले रिजल्ट खोजे भन्नेमा कतिपय विषय संश्लेषणमा जाने देखिन्छ,’ भण्डारीले भने।

प्रतिस्पर्धात्मक राजनीतिका सन्दर्भमा एमालेले बहुदलीय जनवाद र माओवादी केन्द्रले एक्काइसौं शताब्दीको जनवाद भने पनि अब त्यसको बीचबाट नयाँ ढंगको संश्लेषण गर्ने तयारी भइसकेको स्रोतको दाबी छ। यसको सुरुवात दुवै पार्टीभित्र सामूहिक र आन्तरिक रूपमा विषय प्रवेश भई छलफल सुरु भइसकेको छ।

मिल्ने विषय एकता संयोजन समितिभित्रै कार्ययोजना बनाएर मिलाउने र नमिलेका विषयमा महाधिवेशनसम्म पुगेर टुंगो लगाउने तयारीमा दुई पार्टी छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री