बुधबार, ३ कार्तिक २०७८

अब सुत्केरी आमालाई जनही पाँच हजार प्रोत्साहन भत्ता

समयपोष्ट २०७४ पुष ६ गते ६:५१

नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व नवलपुरमा रहेको हुप्सेकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई प्रोत्साहन रकम दिन थालेको छ ।

Advertisement

स्वास्थ्य चौकी र अस्पतालमा सुत्केरी हुने आमालाई लक्षित गरी नमूना सुरक्षित मातृत्व कार्यक्रममार्फत जनही रु पाँच हजार प्रोत्साहन भत्ता रकम प्रदान गर्न शुरु गरिएको हो ।

गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई गाउँपालिकाले प्रोत्साहनस्वरुप रकम दिन लागेको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताए । यस कार्यक्रमले महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ जाँच गराउने र बच्चा जन्माउनुपर्छ भन्ने धारणालाई अभिप्रेरित गर्ने पाण्डेको भनाइ छ ।

ग्रामीण बस्ती भएकाले यहाँका महिलामा अझै पनि स्वाथ्य चौकीमा गएर बच्चा जन्माउनुपर्छ भन्नेसम्मको चेतना नहुँदा अकालमा आमा बच्चा दुवैको ज्यान गुमाउनु पर्ने अवस्था छ ।

यद्यपि अब यस क्षेत्रमा मातृशिशु मृत्युदरमा कमी ल्याउनका लागि गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष पाण्डेको भनाइ छ ।

Advertisement

गाउँपालिकाभित्र स्थायीरुपमा नै बसोबास गर्दै आएका बढीमा दुई सन्तान जन्माउने आमालाई सो प्रोत्साहन भत्ता गाउँपालिकाले उपलब्ध गराउने गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद सापकोटाले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री