शनिबार, ८ वैशाख २०८१

हात्तीपीडितका यस्ता छन दुःख “कसैले मेरो समस्या बुझ्दैन”

समयपोष्ट २०७४ पुष ६ गते २:१६

जंगली हात्तीको झुण्डले घर भत्काएको चार महिना बिते पनि कञ्चनपुरको महाकाली नगरपालिका–३ बडुवाल टोलका ७५ वर्षीय ज्येष्ठ नागरिक मैसरा बुढा आफन्तको शरणमा बस्दै आएकी छिन् ।

Advertisement

आर्थिक अभाव र ढल्दो उमेरका कारण अशक्त भएकैले उनले घर निर्माण गर्न नसक्दा आफन्तको शरणमा बस्दै आएकी हुन् । गत भदौ २३ गते राति हात्तीको बथानले बुढाको घर भत्काएको थियो । त्यसपछि उनी नातिनी नाता पर्ने लक्ष्मी खत्रीको घरमा शरण लिएर बस्दै आएकी हुन् ।

हात्तीले उनले घरभित्र भण्डारण गरेर राखेको अन्न, ओढ्ने बिछ्याउने, लगाउने लुगाफाटो र खाना पकाउन प्रयोग हुने भाँडाकुडा सबै नष्ट गरिदिए पछि उनले बाध्य भएर आफन्तको शरणमा बस्नु परेको बताइन् ।

आर्थिक अभाव र उमेरका कारण ओतलाग्ने नयाँ घर निर्माण गर्ने क्षमता छैन, उनले दुखेसो पोख्दै भनिन,् “अन्न र लुगाफाटोको समेत व्यवस्था नहुदा आफन्तले दिएको दुई छाकको खाना र लुगाफाटोमै गुजारा चलाउन विवश भएकी छु ।”

ओत लाग्ने टहरा बनाउन पैसा नभएका कारण आफन्तको घरमा रात बिताउँदै आएको मैसराले बताइन् । हात्तीले घर भत्काइ दिएपछि नातिनीको घरमा बास बस्दै आएकी छु, मैसराले भनिन्, “कसैले सहयोग गर्लान् भनेको कसैले सहयोग गरेनन् ।” उनका श्रीमान्को जंगली हात्तीको झुण्डले विसं २०७२ मा ज्यान लिएको थियो ।

“खेतमा बाली हुर्कन थालेपछि हात्तीकै त्रासमा रात बित्छ, आफन्तको घरमा सुत्दा पनि कति बेला हो, राति हात्ती आएर मार्ला भन्ने डर छ,” मैसराले भनिन् ।

आफन्तको शरणमा बस्दै आएका मैसरालाई कोही दाता आएर सहयोग गर्ला र घर बनाउँला भन्ने आशा भने जीवित रहेको छ । हात्तीले बेघर बनाएका बुढालाई घर बनाउन सबै थोक किन्नुपर्ने भएको छ । शरीरमा लाउने एकसरो लुगाबाहेक सबै थोक हात्तीले नष्ट गरेपछि ज्येष्ठ नागरिक मैसरालाई आगामी दिनमा कसरी गुजारा चलाउने भन्ने निकै ठूलै पिरलो छ ।

सबै आउँछन् आश्वासन दिएर मात्रै जान्छन् उनले भनिन्, “कसैले मेरो समस्या बुझ्दैन ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री