शुक्रबार, १४ वैशाख २०८१

यस्तो सडकखण्ड जहाँ यात्रुले २७ किमीको यात्रा गर्न १६० रुपैयाँ भन्दा बढी भाडा तिर्नुपर्छ

समयपोष्ट २०७४ पुष १ गते ५:२४

राजेन्द्रप्रसाद पनेरु 

Advertisement

व्यापारका लागि महत्वपूर्ण कञ्चनपुरको कलुवापुर–बेलौरी सडक निर्माणले गति नलिँदा यहाँका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

सडक निर्माणका लागि ठेक्का लिएको निर्माण कम्पनीले काम अगाडि नबढाउँदा धुलाम्मे र खाल्डाखुल्डीले भरिएको सडकमा यात्रा गर्न यात्रुलाई असहज भएको छ । सीमावर्ती भारतीय बजार खजुरियासम्म जोड्नका लागि चार दशकअघि सर्भेक्षण गरिएको सडक हालसम्म पूरा हुन नसक्दा सर्वसाधारणले जिल्ला सदरमुकाम पुग्नका लागि निकै कष्ट झेल्नुपरेको छ ।

कलुवापुर–बेलौरी सडक निर्माणमा अत्यन्त ढिलासुस्ती, चरम लापर्वाही र बेवास्ता भएको यहाँका बासिन्दाको आरोप छ । तीन दशकदेखि सो सडकमा बस सेवा सञ्चालनमा छ । वर्षात्कमा सडक हिलाम्मे र खाल्डाखुल्डीमा पानी जम्ने गरेकाले बस सेवा ठप्प हुँदा सर्वसाधारणको जिल्ला सदरमुकामसँगको सम्बन्धविच्छेद हुने गरेको छ ।

कच्ची सडकै कारण २७ किमीको यात्रा तय गर्न यात्रुले रु १६० भन्दा बढी बस भाडा तिर्नुपरेको छ । खेतमा उत्पादन गरिएको तरकारी बजारसम्म पु¥याउन समेत हम्मेहम्मे पर्ने गरेको शोभातालका किसान साइटु चौधरीले बताए । “सडकको बिग्रँदो अवस्थाका कारण खेतमा उत्पादित तरकारी बेच्न नपाएर खेतमै कुहिने गरेको छ” उहाँले भन्नुभयो, “सडकको सहज व्यवस्था भए बजारसम्म जान सक्थ्यो, सस्तोमै गाउँघरमै बिक्रीसमेत हुने गरेको छैन ।”

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री