शनिबार, ८ वैशाख २०८१

डीएसपीदेखि निर्वाचन अधिकृतसम्म मिलेर गच्छदारलाई जिताए : चौधरी

समयपोष्ट २०७४ मंसिर २८ गते ०:५३

सुनसरी क्षेत्र नम्बर ३ मा एमालेबाट प्रतिनिधिसभा सदस्यको लागि चुनाव लडेकी भगवती चौधरीले चुनावमा धाँधली भएको आरोप लगाएकी छिन्। नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारबाट ३ सय २१ मतअन्तरमा पराजित चौधरीले सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर धाँधली भएको आरोप लगाएकी हुन्। उनले आफू अन्यायमा परेको जनाउँदै न्यायका लागि राष्ट्यि, अन्तर्राष्ट्रिरय अदालत जाने चेतावनी दिएकी छिन्।

Advertisement

विवादित मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने र सबै क्षेत्रको मतपत्र सावधानीका साथ पुनः गणना गर्नुपर्ने समेत उनको माग छ। ‘मतपत्र नम्बर, त्यहाँ प्रयोग गरिएको स्वस्तिकको छाप आदि फेरी जाँच गर्ने हो भने धेरै मत बदर भएका छन्,’ उनले भनिन्, ‘बदर मतलाई समेत सदर गराएर विजयकुमार गच्छदारलाई जिताइएको छ।’

उनले चुनावको मतदान र मतगणना प्रक्रियामा धाँधली भएको गुनासो गरेकी हुन्। सो क्रममा सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझी, निर्वाचन अधिकृत टीकाभुषण घिमिरेलगायतको नामै किटेर प्रेस वक्तव्य समेत जारी गरेकी छिन्। मतपत्रको सिरियल नम्बर हेर्न खोज्दा घिमिरेले नदिएको चौधरीले बताइन्। मतगणना स्थलमा सिसिटिभी नराखिएको, मतदानस्थलभित्र कांग्रेस कार्यकर्तालाई मोबाइल लान दिइएको जस्ता आरोप समेत चौधरीले लगाएकी छिन्।

उनले आफूलाई षड्यन्त्र गरेर हराइएको बताउँदै केही केन्द्रमा पुनः मतदानको माग गरिन्। ‘स्वभाविकभन्दा ठूलो स्वस्तिक छाप भएका मतपत्रलाई पनि सदर गरिएको छ,’ दुई हजार पाँच सय मतलाई सदर गरिएको बताउँदै उनले भनिन्, ‘केही मतदान केन्द्रमा अधिकृत र प्रहरीले नै नेपाली कांग्रेसमा भोट हाल्न मतदातालाई आदेश दिएको भेटियो।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री