शुक्रबार, ७ वैशाख २०८१

म्याग्दीमा तामा र फलाम खानीको संरक्षण अभाव ,आम्दानीभन्दा बढी कर तिर्नुपर्दा खानी बन्द

समयपोष्ट २०७४ मंसिर २० गते ७:१६

म्याग्दीमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन्। लुलाङ र रुमको ढुंगा खानीबाहेक अन्नपूर्ण र मालिका गाउँपालिकाका ताकम, गुर्जा, कुइने, ओखरबोट लगायतका ठाउँमा रहेका खानी पुरिन थालेका हुन्। खानीबाट धातु निकालिने धाउ पुरिएका छन्। छन्त्याल जातिले पहाडभित्र सुरुङ खनेर त्यहाँ रहेको धातु निकाल्ने गर्दथे। छन्त्याल जातिमा धातु भएको ठाउँ सुँघेर पनि थाहा पाउन सक्ने क्षमता भएको ताकमका चन्द्रबहादुर छन्त्यालले बताए।  खानी उत्खनन गर्ने यन्त्र उपकरणको अभाव र सरकारलाई आम्दानीभन्दा बढी कर तिर्नुपर्ने अवस्था आएपछि तीन दशकयता म्याग्दीका खानी बन्द भएका नेपाल छन्त्याल संघ, म्याग्दीका भूतपूर्व अध्यक्ष मकुन्द छन्त्यालले बताए। 

Advertisement

जंगलको बीचमा पहाडभित्र रहेका खानीमा बाहिरबाट ढुंगा, हिलो र भल गएर थुप्रिएर पुरिन लागेकामा छन्त्याल समुदाय चिन्तित भएका छन्। खानी खनेर जीविकोपार्जन गर्दै आएका म्याग्दी जिल्लाको विभिन्न ठाउँमा बसोवास गर्ने छन्त्याल समुदाय परम्परागत पेशाबाट विस्थापित भएका छन्। गुर्जा, ताकम, कुइनेमंगल, मल्कबाङ र भकिम्लीमा बसोबास गर्ने छन्त्याल समुदाय खानी उत्खनन गर्ने परम्परागत पेशाबाट पूर्णरुपमा विस्थापित भएका छन्।  गत वर्षको जिल्ला परिषद्ले खानीको संरक्षण र उपभोग गर्न पहल गर्ने निर्णय गरे पनि यस विषयमा कुनै पहल हुन सकेको छैन। स्थानीयवासीको लगानीमा धातु उत्खनन गर्दा आयातीतसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले सरकारले अनुदान दिएर खानी सञ्चालन गर्न सके जिल्लाको अर्थतन्त्रमा सहयोग पुग्ने छन्त्याल समुदायका अगुवा बताउँछन्। रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री