मंगलबार, ११ वैशाख २०८१

मधेशमा उम्मेदवारलाई पैसा बाड्दै मतदाता !

समयपोष्ट २०७४ मंसिर १८ गते ११:५८

–किरण भट्टराई 

Advertisement

धेरै ठाउँको निर्वाचनमा उम्मेदवारले मतदातालाई रकम बाँडेको चर्चा भइरहँदा रौतहट प्रतिनिधिसभा क्षेत्र नं ३ मा भने ठीक उल्टो मतदाताले उम्मेदवारलाई पैसा दिएको पाइएको छ । 

जिल्लाको मौलापुर नगरपालिकाको चिरचिरिया, भरहरी, नवलपुरलगायतका क्षेत्रमा घरदैलाको क्रममा पुगेका उम्मेदवारलाई मतदाताले टीका लगाएर आशिर्वाद दिँदै सहयोग रकम दिने गरेका छन् । कतिपय मतदाताले उम्मेदवारलाई पैसाकै माला लगाइदिने गरेका छन् । 

मतदाताले रकम मात्रै होइन लड्डु, मिठाई, जुस जस्ता खाद्यपदार्थ उम्मेदवार र प्रचारटोलीलाई खुवाउँछन् । प्रचारको क्रममा मतदताले दिने लड्डु, मिठाइ खाँदा दिनभरी पेट खाली हुन नपाउने निर्वाचन प्रचारप्रसारमा संलग्न सदस्यहरू बताउँछन् । 

सो क्षेत्रमा प्रचारप्रसारमा नेकपा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार बन्नुभएका विनाविभागीय मन्त्री प्रभु साहलाई घरदैलोको क्रममा मतदाताले रकम दिएपछि सुरुका दिनमा केही अनौठो र असहज लाग्यो । 

सुरुवातमा पैसा लिन आनाकानी गर्दा मतदाता खिन्नभएको र रिसाएको पाएपछि उनीहरूलाई खुसी पार्नकै लागि भएपनि उम्मेदवार साहले रकम लिन थाले ।  मन्त्री साहले भने, “मतदाताले टीका लगाइदिँदै आशिर्वाद दिएर हातमा प्रसाद भन्दै रकम थमाई दिनुहुन्छ । नलिउँ भने रिसाउनुहन्छ, त्यसैले राख्न थाले ।” यसलाई मतदाताले आफूप्रति देखाएको माया र सद्भावको रुपमा आफूले लिएको उनको भनाइ छ । 

उम्मेदवारलाई थोरै भएपनि सहयोग होस् भनेर राजी खुशी साथ आफूहरूले रकम दिएका स्थानीय बताउँछन् । स्थानीय रामपृत साहले आफूकहाँ आउनेलाई रित्तो हात फर्काउनु हुन्न भन्ने गाउँको चलन रहेकाले स्थानीयवासीले सहयोग गरेको बताए। 

मतदाताहरूले रु १०/ २० देखि रु एक हजारसम्म पनि दिने गरेका छन् । मन्त्री साहका सहयोगी बालकृष्ण सापकोटाले चिरचिरिया गाउँमा मात्रै स्थानीयले दिएको रकम जोड्दा रु ५० हजार पुगेको जानकारी दिए । 

माओवादी केन्द्रका उम्मेदवार साह मात्रै होइन सोही क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार सुनिलकुमार यादव र राष्ट्रिय जनता पार्टी ९राजपा० का उम्मेदवार ओमप्रकाश साहको पनि अनुभव त्यस्तै छ । 

1512389658753_KB_Ktm

काँग्रेस उम्मेदवार यादवले पनि घरदैलोको क्रममा मतदाताले आफूलाई टीका लगाएपछि रकम दिएको सुनाए ।  यो क्षेत्रमा माओवादी केन्द्रका साह, काँग्रेसका यादव र फोरम–राजपा गठबन्धनबाट जयसवाल, मजदुर किसान पार्टीबाट विनोदकुमार साह,, राष्ट्रिय जनमोर्चाबाट सोनाही महतोलगायत प्रतिस्पर्धामा छन् । 

काँग्रेस, माओवादी केन्द्र र राजपाका उम्मेदवार तीनैजना उम्मेदवारले आफ्नो जित निश्चित रहेको दाबी गरे। 

निर्वाचन क्षेत्र पुर्नसंरचनाको क्रममा यसअघि क्षेत्र नं ३ र ५ रहेका अधिकांश क्षेत्रलाई ३ नम्बर क्षेत्र समेटिएको छ । क्षेत्र नं ३ बाट विस २०७० को संविधानसभामा निर्वाचित साह र क्षेत्र नं ५ बाट निर्वाचित यादवबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । 

दुइई पटक लगातार यो क्षेत्रबाट जित्दै आउनुभएका साहले स्थानीय तहमा वामगठबन्धनले पाएको मत काँग्रेस, राजपा र फोरम तीनवटै पार्टीको भन्दा बढी रहेकोले आफूले सहजै जित्ने बताए। 

साह भन्दछन्,“ यस क्षेत्रबाट निर्वाचित भएपछि मैले गरेका विकास निर्माण जिल्लाकै नमुना विकासको रुपमा जनताले लिएका छन् । मरोे कामका आधारमा जिल्लामा अरु क्षेत्रका मतदाताले समेत विकासप्रेमी नेताको रुपमा चिन्छन् ।” 

काँग्रेस उम्मेदवार यादवले यो क्षेत्रको विकास, समृद्धिका लागि तथा मधेसीको माग सम्वोधन र प्रजातन्त्रको रक्षाका लागि मतदाताले आफूलाई नै निर्वाचित गर्नेमा विश्वस्त रहेको बताए । 

सो क्षेत्रमा राजनीतिक दलको आस्थाका साथै जातिगत आस्थाका आधारमा समेत मतदान हुने भएकाले यादव समुदायको धेरै मत तान्न सकेमा जित्न सहज हुने काँग्रेस उम्मेदवार यादवको आशा छ । 

राजपाका उम्मेदवार जयसवाल पनि आफ्नो जित निश्चित रहेको बताउँदै अरु दल मधेस विरोधी भएकाले राजपा–फोरम गठबन्धलाई नै मधेसी जनताले निर्वाचित गर्ने बताउछन् । यो क्षेत्रमा ८३ हजार ५४६ मतदाता रहेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री