शुक्रबार, १६ चैत २०८०

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान शुरु

समयपोष्ट २०७६ मंसिर २५ गते १६:०८

Advertisement

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो एयरलाइन्सले सोमबारदेखि सो शहरमा सीधा उडान शुरु गरेको आज विज्ञप्तिमार्फत जनाएको छ ।

हिमालयले पहिलो उडान सन् २०१७ फेब्रुअरी १० देखि शुरु गरेको थियो । वैदेशिक रोजगारीका लागि मलेसिया जानेहरुको श्रम स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरदेखि एयरलाइन्सले मलेसिया उडान स्थगन गरेको थियो । भ्रमण वर्ष २०२० को सङ्घारमा मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षण गर्ने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

क्वालालम्पुर गन्तव्यमा कम्पनीले सोमबार र मङ्गलबार उडान भर्ने छ । “हामी क्वालालम्पुर र काठमाडौँबीचको सीधा उडान पुनःसञ्चालन गर्न पाउँदा एकदमै हर्षित भएका छौँ । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ”, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले विज्ञप्तिमा जनाउनुभएको छ ।

सन् २०१४ अगष्टमा स्थापित कम्पनीले हाल तीनवटा ए ३२० जहाजमार्फत आठवटा गन्तव्यमा उडान भर्दै आएको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहामा भरेको थियो । हालै युएईको आबुधावी, बङ्गलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालयले अबुदाबी, दमाम, दोह, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं र चाडंसामा उडान भरिरहेको छ ।

निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्न एअरलाइन्सले २०२० सम्म तिन ए ३१९ जहाज खरीद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने गरी एयरलाइन्सले क्रमशः चोङकिङ, सेन्जेङ, नाङचाङ, साङ्घाई र त्यसपश्चात् अलि र ल्हासामा विस्तार गर्ने जनाएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री