शुक्रबार, १६ चैत २०८०

स्त्री रोगमा ल्याप्रोस्कोपी एकदमै भरपर्दो र सुरक्षित प्रविधि हो : स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रंगिना शाहको अन्तर्वार्ता

समयपोष्ट २०७६ मंसिर २४ गते १९:४३

Advertisement

नेपालमा पनि स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपी (दूरबिनबाट गरिने) सर्जरीको सुरुआत भएको छ । विश्वका अन्य देशमा धेरै पहिलेदेखि नै प्रयोगमा भए तापनि नेपालका लागि भने यो नयाँ प्रविधि हो । यो प्रविधिको सुरुआत जर्मनीबाट भएको हो । यस प्रविधिमा भएका लगातार अध्ययन–अनुसन्धानबाट पेट चिरेर गर्ने शल्यक्रियाभन्दा यो विधि सजिलो र भरपर्दो हो भनेर सिद्ध भएको छ । पेटबाट बच्चा निकाल्नेबाहेक अन्य सबै रोगका शल्यक्रिया ल्याप्रोस्कोपी सर्जरीका माध्यमबाट गर्न सकिन्छ । पेटमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन) को मद्दतले तल्लो पेटका भित्री अङ्गहरूका समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । यस विषयमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रङ्गिना शाहसँग गरिएको कुराकानी :

ल्याप्रोस्कोपी सर्जरी महिलाहरूमा कसरी गरिन्छ ?

पुराना प्रविधिबाट अप्रेसन गर्दा बिरामीलाई बेहोस पारेर जुन अङ्गमा ट्युमर वा समस्या छ, त्यसको माथि १० सेन्टिमिटर चिरेर गरिन्छ । छालाका ४ र ५ तहलाई चिर्दै उपचार गर्नुपर्ने अङ्गसम्म पुगेपछि हातले औजारहरू चलाएर अप्रेसन गरिन्छ ।

ल्याप्रोस्कोपी सर्जरीलाई ‘कि होल सर्जरी’ पनि भनिन्छ । यो प्रविधिमा दूरबिन र औजारका माध्यमले रोगको पहिचान तथा उपचार गर्न सकिन्छ । यसका लागि पेट फुलाउन कार्बनडाइअक्साइड वा अन्य हावाका प्रयोग गरिन्छ भने उज्यालोका लागि प्रकाश पठाइन्छ । ग्याँस, प्रकाश र दूरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ । समस्याग्रस्त भित्री अङ्गहरू हटाउने उपकरण र रक्तस्राव रोक्ने औषधि पठाउन पेटको तल्लो भागमा दुईतिर अन्य स–साना प्वालहरू बनाइन्छ । अप्रेसन गर्ने अङ्गमाथि एक सेन्टिमिटरको प्वाल पारेर क्यामेरा छिराइन्छ । पेटभित्रका अङ्गको अप्रेसन गर्दा पेटभित्र छिराइएका क्यामेरा घुमाएर सबै अङ्गको अवस्था हेरिन्छ । त्यसपछि अप्रेसन गर्ने अङ्गको माथि अरू आधा–आधा सेन्टिमिटरका दुई–दुईवटा प्वाल पारेर औजारहरू छिराएर अप्रेसन गरिन्छ ।

महिलाका कस्ता–कस्ता स्वास्थ्य समस्यामा ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गर्न सकिन्छ ?

पेटबाट बच्चा बाहिर निकाल्नेबाहेक महिलाका अन्य सबैजसो स्वास्थ्य समस्यामा यो विधिबाट शल्यक्रिया गर्न सकिन्छ । पाठेघरमा ट्युमर पलाउँदा तथा एउटा निश्चित उमेरपछि हार्मोनको गडबडीले महिलाको पाठेघरबाट धेरै रगत बगेमा ल्याप्रोस्कोपी सर्जरीका माध्यमबाट उपचार गर्न सकिन्छ । त्यस्तै, डिम्बमा ट्युमर पलाएको, पाठेघरमा बच्चा नबसेर डिम्ब वा नलीमा बच्चा बसेको छ भने पनि ल्याप्रोस्कोपी सर्जरीका माध्यमबाट उपचार गर्न सकिन्छ । निःसन्तान, जीर्ण प्रकारका तल्लो पेट दुखाइ, तल्लो पेटमा मासु वा डल्लो पलाएको, महिनावारीमा तल्लो पेट दुख्ने समस्या, महिलाको स्थायी बन्ध्याकरण तथा पाठेघरमा हुन सक्ने विकृति पत्ता लगाउने जस्ता स्त्री रोगसम्बन्धी स्वास्थ्य समस्या निदानमा पनि ल्याप्रोस्कोपी प्रविधिद्वारा उपचार गर्न सकिन्छ ।

महिलाहरूमा पाठेघरको ट्युमर कसरी हुन्छ ?

महिलाहरूमा इस्ट्रोजोन र प्रोजेस्ट्रोन हार्मोन बढी मात्रामा उत्पादन भएमा पाठेघरको ट्युमर हुने सम्भावना रहन्छ । ३५ देखि ४५ वर्ष उमेर समूहका महिलाहरूमा यो समस्या देखिने गरेको छ ।

कस्ता महिलाहरूमा पाठेघरको ट्युमर हुने सम्भावना बढी हुन्छ ?

वंशानुगत, जस्तो– आमा, दिदी, बहिनीहरूमा ट्युमर देखिएको छ भने अविवाहित तथा निःसन्तान महिलाहरूमा पनि पाठेघरमा ट्युमर हुने सम्भावना बढी देखिन्छ । मोटोपना पनि यसको कारण हुन सक्छ । त्यस्तै, पाठेघरको ट्युमर हुँदा गर्भ रहन गएमा ट्युमर बढ्ने सम्भावना रहन्छ ।

ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया कत्तिको सुरक्षित छ ?

अधिकांश नारीहरूमा यो प्रविधिको बारेमा अनभिज्ञताले गर्दा सुरक्षाका प्रश्नहरू आउने गर्दछन् । यो प्रविधि रोगको उपचारमा पछिल्लो पटक भित्रिएको एकदमै भरपर्दो र सुरक्षित प्रविधि हो । उच्च गुणस्तरका क्यामेराको सहायतामा टीभीको स्क्रिनमा हेरेर गरिने शल्यक्रिया भएकाले पुराना विधिबाट गरिने शल्यक्रियाभन्दा यो विधिबाट गरिने शल्यक्रिया भरपर्दो र सुरक्षित छ ।

ल्याप्रोस्कोपी प्रविधिका फाइदाहरू के–के छन् ?

यो विधिबाट शल्यक्रिया गर्दा एक सेन्टिमिटर र दुई–तीनवटा आधा सेन्टिमिटरका प्वाल मात्र पार्नुपर्दछ । जसले गर्दा बिरामीलाई दुखाइ कम हुने, रगत धेरै नजाने हुँदा रगत दिनुपर्ने सम्भावना अत्यन्त न्यून हुने, घाउ सानो भएकाले चाँडै सन्चो हुनुका साथै घाउ पाक्ने सम्भावना पनि कम हुन्छ । साथै, शल्यक्रिया गरेको २४ घन्टाभित्र बिरामी उठेर हिँडडुल गर्न सक्ने भएकाले अस्पतालबाट चाँडै डिस्चार्ज हुन पाइने तथा छिटोभन्दा छिटो आफ्नो दैनिक कार्यमा फर्कन सकिन्छ । घाउ सानो हुने भएकाले एन्टिबायोटिक र नदुख्ने औषधि पनि कम प्रयोग गर्न सकिन्छ । शल्यक्रिया गरिसकेपछि घाउको दाग चिरेको भन्दा निकै कम देखिन्छ । हेमोग्लोबिनको समस्या भएका बिरामीहरूका लागि त यो विधि अति उपयुक्त छ । उपचारको दौरानमा धेरै परामर्श गर्नुपर्ने भएकाले यो प्रविधिमा बिरामी र उनका परिवारसँग चिकित्सक टोलीको सम्बन्ध प्रगाढ बन्छ ।

यो प्रविधिको अर्को फाइदा के पनि छ भने क्यामेरा प्रोजेक्टरबाट उपचार कार्य बाहिर देखाउन मिल्ने हुनाले चिकित्सा विज्ञानका विद्यार्थीलाई शल्यक्रिया कक्षमा लगेर सिकाउनुपर्ने बाध्यता हुँदैन । यसबाट शल्यक्रिया कक्षमा अनावश्यक घुइँचो र सङ्क्रमणको सम्भावना नहुनुका साथै बिरामीका आफन्तहरूले पनि शल्यक्रिया प्रक्रियाको प्रत्यक्ष प्रसारण वा भिडियो रेकर्ड हेर्न पाउँछन् ।

नेपालमा ल्याप्रोस्कोपी प्रविधिको अवस्था कस्तो छ ?

नेपालमा ल्याप्रोस्कोपी प्रविधि भित्र्याउन सरकारी तथा निजी क्षेत्रबाट कम पहल भइरहेको छ, जसले गर्दा हजारौँ महिलाहरू मित्रराष्ट्र भारत तथा अन्य मुलुकमा पुगेर यो प्रविधिबाट महँगोमा सेवा लिइरहेका छन् । यस्तो अवस्थाको न्यूनीकरणका लागि हाल नेपालका सीमित अस्पतालहरूमा मात्र यो सेवा पाइने भएकाले नेपालका धेरै अस्पतालमा यो सेवाको विस्तार गर्नुपर्ने आवश्यकता छ । यसका लागि सरकारले पनि सरकारी तथा निजी अस्पतालका डाक्टरहरूलाई विदेश वा नेपालमै तालिम लिने व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री