शुक्रबार, ७ वैशाख २०८१

कमलादीमा दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावर, मन्त्री पोखरेलले गरे शिलान्यास

rss २०७६ मंसिर २१ गते १९:५२

Advertisement

उपप्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पु¥याउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज राजधानीमा शिलान्यास गर्दै उहाँले नयाँ काम गर्ने सङ्कल्प तथा घोषणानुसार उक्त कार्यको शुभारम्भ गरिएको बताउँदै टावरले पर्यटन क्षेत्रमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाली युवाले अन्तरराष्ट्रिय क्षेत्रमा सिकेको ज्ञानका साथ कमाइको केही रकम नेपालमा प्रयोग गर्दै टावरको निर्माणमा जुट्नु नेपालमाथिको भरोसा भएको बताउनुभयो ।

लगानीको सम्भावना भएको सही ढङ्गले प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने विश्वास नेपाली युवामा जागृत हुँदै गएको उल्लेख गर्दै उहाँले युवाको जोश, जाँगरका साथ शुरु गरिएको कार्यले लगानीको वातावरण सिर्जनामा थप टेवा पुगेको बताउनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली युवाको सपना यथार्थको बाटाका रुपमा हिँडेको एक उदाहरणका रुपमा स्काई वाक टावर रहेको उल्लेख गर्दै समृद्ध नेपालको राष्ट्रिय चाहनालाई पूरा गर्न उक्त कार्यले विशेष भूमिका निर्वाह गर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका नेता रामशरण महतले विदेशमा कमाएको रकम तथा सीपलाई आफ्नो मुलुकमा प्रयोग गर्नु नै समृद्धिको आधार भएको उल्लेख गर्नुभयो । उक्त टावर रु तीन अर्बको लगानीमा ७८ मिटर अग्लो बन्ने भएको परियोजना निर्देशक सञ्जीव रोकाले जानकारी दिनुभयो । काठमाडौंको कमलादीमा बन्न लागेको टावर शिलान्यास गरिएको १८ महिनाभित्र पूरा भइसक्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री