बुधबार, १२ वैशाख २०८१

मृगौला पिडित धमलालाई एकता महिला समुहको आर्थिक सहयोग

समयपोष्ट २०७६ मंसिर २१ गते १३:०७

Advertisement

टोखा नगरपालिका ८ स्थित एकता महिला समुहले सिन्धुपाल्चोकका मृगौला पिडित आशिष धमलालाई आर्थिक सहयोग गरेको छ ।

दुवै मृगौला फेल भएर पिडित बनेका २४ बर्षिय आशिष धमलालाई शनिबार बिहान एकता महिला समुहकी अध्यक्ष सम्झना थपलियाले उपचार सहयोगार्थ रकम हस्तान्तरण गरेकी हुन् ।

समुहले पिडित धमलाको लागि ६५ हजार रुपैयाँ संकलन गरी आर्थिक सहयोग गरेको हो । अध्यक्ष थपलियाले समुहको सानो प्रयासले कसैको जिवन बचाउन सकिन्छ भने यस किसिमका सहयोगका लागि अन्य स्थानका महिला समुह पनि जागरुक बन्नुपर्ने बताईन् । उनले समुहका सम्पुर्ण महिला दिदी बहिनीहरु स्व स्फर्त रुपमा अगाडि आई मृगौला पिडित धमलाको जिवन रक्षाको लागि रकम संकलन गर्न दिन रात नभनि खटिएको स्मरण गरिन् ।

रकम हस्तान्तरण कार्यक्रममा समुहका सम्पुर्ण महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।

सिन्धुपाल्चोक स्थायी घर भएका पिडित धमला हाल टोखा नगरपालिका ८ मा अस्थाई रुपमा बसोबास गर्दै आइरहेका छन् । कक्षा ८ मा पढ्दा पढ्दै उनको दुवै मृगौलाले काम गर्न छोडेको हो । विगत नौ बर्ष देखि उनले उपचार गराउँदै आएका छन् । धमलाले हाल साताको दुई पटक बनस्थलीस्थित किड्नी सेण्टरमा डायालायिसिस गराउँदै आएका छन् । उनले डायालायसिस गराउन थालेकै बर्ष दिन बितिसकेको छ । धमलाले मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेसंग नियमित जाँच गराउँदै आएका छन् ।

रोगले च्याप्दा च्याप्दै स्नातकसम्मको अध्ययन पुरा गरेका धमलाको लागि उनकै आमाले एउटा मृगौला दिने भएकी छिन् । मृगौला प्रत्यारोपणको लागि आवश्यक रकमको जोहो गर्न नसक्दा अहिले उनको शल्यक्रियानै रोकिएको उनकी आमा रुकु धमलाले बताईन् ।

निम्न मध्यम वर्गिय परिवारका उनी दुई छोरा मध्ये जेठा सन्तान हुन् । धमलाका बुवा हाल बैदेशिक रोजगारीका क्रममा दुुबैमा छन् । छोराको उपचार गर्दा गर्दै गाउँमा भएको घर खेतसमेत सकिसकेको धमलाकी आमाले बताईन् । श्रीमानले विदेशबाट पठाएको केही रकमले छोराको डायलायिसिस खर्च ब्यहोर्दै आएको पिडितकी आमाले बताईन् ।

पिडित धमलाकी आमा रुकुका अनुसार अंग प्रत्यारोपणको लागि करीब १२ लाख रुपैयाँ आवश्यक पर्नेमा हाल पाँच लाख उठिसकेको छ । उनको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा अंग प्रत्यारोपणको तयारी भैरहेको छ ।  धमलालाई सहयोग गर्न चाहनेले सिद्धार्थ बैंकको खाता नं ०१६१५४००४५९ मा रकम जम्मा गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री