शुक्रबार, १६ चैत २०८०

महरालाई छुटाउन रोशनी पुगिन् उच्च अदालत

समयपोष्ट २०७६ मंसिर १७ गते २०:३०

Advertisement

पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएकी छन् ।

जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले दुई दिनअघि उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।

गत १८ कात्तिककमा महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको थियो । उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको सो निवेदनलाई अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरिदिएको छ ।

रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएकोलगायतका कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरेकी छन् ।

निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध आज इजलासमा निवेदन दिन पुगेकी छन् । रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन भोलि इजलासमा पेश हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री