बिहीबार, २१ मंसिर २०८०

परम्परागत उपचार पद्धतिलाई प्रवद्र्धन गर्न नेपाल र भारतले सहकार्य गर्नुपर्ने

समयपोष्ट २०८० कार्तिक १७ गते ६:२७

Advertisement

परम्परागत उपचार पद्धति आयुर्वेदको प्रवद्र्धनका लागि ज्ञान, सीप, विशेषज्ञता आदानप्रदान गरी नेपाल र भारतले सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।

आठौँ आयुर्वेद दिवसका अवसरमा भारतीय राजदूतावासले बिहिवार आयोजना गरेको छलफल कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेद लगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यलाई निरन्तरता दिन छलफल गरिएको बताउनुभयो । उहाँले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदानप्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवद्र्धन गर्न लागिएको बताउनुभयो । यस वर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको अध्यक्षतामा सम्पन्न जी–२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’ सँग मेल खाने पनि उहाँले जानकारी दिनुभयो ।

नेपालको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यता प्राप्त प्रणाली भएको उल्लेख गर्दै नेपाल सरकारले आयुर्वेदको प्रवद्र्धनका लागि काम गरिरहेको जानकारी गराउनुभयो ।

डाबर नेपालका व्यवसाय प्रमुख हरकिरत सिंह वेदीले उद्योगको धारणा व्यक्त गर्दै कसरी डाबरले नेपालबाट जडीबुटी संकलन गर्न आपूर्ति श्रृंखलाको विकास गरेको र त्यसले स्थानीय समुदायका लागि दिगो जडीबुटी खेती गर्ने अवसरहरु प्रदान गरेको बताउनुभयो ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा.श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अङ्ग भएको बताउनुभयो ।

भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती (धन्तेरस)मा आयुर्वेद दिवस मनाउँदै आएको छ । सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौँ आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद–हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री