शुक्रबार, ७ वैशाख २०८१

अब देशैभर लोडसेडिङ अन्त्य गर्ने गरि हामी काम गरिरहेका छौं  : कुलमान घिसिङ

समयपोष्ट २०७३ कार्तिक २९ गते ११:५३

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि सकेसम्म लोडसेडिङ न्यून गर्ने योजना अनुसार प्राधिकरणले काम गरिरहेको बताएका छन् । 
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा कार्यकारी प्रमुख घिसिङ्ले काठमाडौंलाई पूर्ण रुपमा लोडसेडिङमुक्त बनाउने काम भैरहेको र विस्तारै काठमाडौंबाहिर पनि सकेसम्म थोरै भन्दा थोरै गर्ने योजनाका साथ अहिले काम भैरहेको बताएका हुन् । उनले भने,‘लोडसेडिङ अन्त्य गर्छु भन्दै भनेर हिँड्ने काम होईन, व्यवस्थापन महत्वपूर्ण कुरा हो ।’ उनले व्यवस्थापनमा बढि ध्यान दिँदा अहिले तिहार यता काठमाडौंमा लोडसेडिङ् नभएको जिकिर गरे । 
कार्यकारी प्रमुख घिसिङले लोडसेडिङ कम गर्नेवारेमा आफूले एक्लैले काम गरेको जसरी बाहिर चर्चा भएकोप्रति टिप्पणी गर्दै भने,‘कुलमानले एक्लैले यो काम गर्यो भनेर चर्चा गर्नु न्यायसंगत हुँदैन, यो सत्य होईन ।’ उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको चाहना र उर्जामन्त्री जनार्दन शर्माले जारी गरेको ३७ बुँदे कार्यक्रमलाई स्पेशल फोकस गरेर काम भैरहेको स्पष्ट पारे ।
उनले लोडसेडिङ कम हुनुमा व्यवस्थापकीय कार्य नै महत्वपूर्ण भएको भन्दै आगामी हिउँदमा लोडसेडिङ सकेसम्म कम गर्नको लागि अहिलेदेखि नै काम भैरहेको पनि जानकारी दिए । उनले थपे,‘लाईन सवस्टेशन, ट्रान्समिसनलाई अपग्रेड गर्ने काम भैरहेको छ, आपूर्तिमा पनि हामीले ध्यान दिएका छौं ।’  यो दुई महिना लोडसेडिङमुक्त कसरी गर्ने भन्ने योजनामा आफूहरु रहेको उल्लेख गर्दैै घिसिङले थपे,‘यो दुई महिना हामी सफल भयौं भने वर्षैभरि लोडसेडिङमुक्त गर्न सक्छौं ।’
प्राविधिक समस्याका कारण कुनै क्षेत्रमा केहीबेर बिजुली आपुर्ति हुन नसके पनि तत्काल समस्या समाधान गरिएको उनले दाबी गरे । उपत्यकामा कुनै फिडरमा माग बढी तर आपूर्ति कम, कुनैमा माग कम तर आपूर्ति बढी रहेकाले त्यसको व्यवस्थापन गर्ने काम पनि प्राधिकरणले जारी राखेको उनको भनाई थियो । 
उनले अहिले काठमाडौं उपत्याका बाहिर देशैभरि पनि बेलुका एक घण्टादेखि डेढ घण्टासम्म मात्रै लोडसेडिङ हुने गरेको बताउँदै भने,‘लोडसेडिङ कम होस भन्ने हाम्रो चाहना हो ।’ उनले अहिले उद्योग तथा कलकारखानाको मागलाई आफूहरुले कटौति गरेको समेत जनाए । उनले भने,‘ईण्डष्ट्रिजको लागि हामीले साँझ ५ बजे देखि ८ बजेसम्म काटेका छौं, यो सिफ्ट चेन्ज भन्दा पनि हुन्छ ।’
हिउँदमा काठमाडौंको लोडसेडिङ के हुन्छ भनेर पनि प्रश्नहरु आईरहेको उल्लेख गर्दै घिसिङले भने,‘हामीले अहिले कुलेखानी चलाएको छैन्, मंसिरदेखि बैशाखसम्म ४ घण्टासम्म कुलेखानी चल्न सक्छ, तर हामीलाई जम्मा २ घण्टा चाहिन्छ ।’ उनले अहिले कुलेखानी रित्याएको भनेर समेत टिप्पणी भएको बताउँदै थपे,‘कुलेखानी रित्याएको छैन, काठमाडौं उपत्यका बाहिरपनि लोडसेडिङ बढाएका छैनौं ।’
अहिले काठमाडौंलाई मात्रै किन लोडसेडिङमुक्त गर्न खोजिएको भन्दै प्रश्नहरु आएकोमा उनले भने,‘हाम्रो प्रयास हो, यो तीन चार महिना अवस्था अलिक कठिन छ, सकेसम्म नहुने हाम्रो प्रयास हो ।’ यद्धपी उनले लोडसेडिङ अन्त्य भयो भनेर घोषणा गर्ने अवस्था अहिले नभएको स्पष्ट पारे । उनले भने,‘अहिले सकारात्मक सन्देश के हो भने लोडसेडिङ अन्त्य हुँदैछ छ है भन्ने हो ।’ उनले काठमाडौं कम चुहावट हुने स्थान भएकोले पनि आफुहरुले यसलाई प्राथमिकतामा राखेको बताए । 
उनले व्यवस्थापनमा पनि अप्टिकल म्यानेजमेन्ट, सप्लाई म्यानेजमेन्ट, भौतिक पूर्वाधार, र अपरेशनमा आफुहरुले विशेष ध्यान दिएको जानकारी दिए । उनले भने,‘अहिले हामीले माँग व्यवस्थामा ध्यान दिएका छौं, यतिवेला ईनभर्टर चलेका छैनन,डिजेल र जेनेरेटर चलेको छैनन, यसले गर्दा ईम्पोर्ट कमी हुन्छ ।’
उनले सरकारको यो योजनामा उपभोक्ताहरुले पनि सहयोग गर्नुपर्ने सुझाव दिए । घिसिङले थपे,‘क्राईसिस म्यानेजमेन्टको लागि हामीले ईनर्जी ईफिसेन्सी अनुसार लिड ल्याम्पहरु बाल्नुपर्छ, साधनहरुको उपयोगमा पनि हामीले ध्यान दिनुपर्छ ।’ लोडसेडिङ अन्त्य गर्ने मिसनमा कन्जुमर बिहेवियरले पनि अर्थ राख्ने उनको भनाई थियो । 
उनले अहिले प्राधिकरणमा कुनै समस्या नभएको समेत जिकिर गरे । घिसिङले थपे,‘झगडा भयो भनेर प्रचार गरिएको छ, अहिले स्मूथली काम भैरहेको छ ।’ उनले उर्जामन्त्रीको कार्यक्रमलाई सफल बनाउनको लागि १० हजार कर्मचारीले काम गरिरहेको बताउँदै यो राष्ट्रिय अभियानलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । 

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री