बिहीबार, १५ चैत २०८०

टिकट पाएकामध्ये वाग्मती प्रदेश सरकारका एक मन्त्री पराजित

समयपोष्ट २०७९ मंसिर १३ गते १७:१३

Advertisement

वाग्मती प्रदेश सरकारका मन्त्रीमध्येबाट प्रदेशसभा निर्वाचनमा टिकट पाएकामध्येमा एक मन्त्री पराजित हुनुभएको छ । प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पराजित हुनुभएको हो । प्रदेश मन्त्रीमध्येबाट टिकट पाएर पराजित हुनेमा दाहाल एक्ला हुनुहुन्छ । चितवन निर्वाचन क्षेत्र नं २ (१) प्रदेशसभा निर्वाचनमा दाहाल पराजित हुनुभएको हो । सो क्षेत्रबाट नेकपा (एमाले) का कृष्णप्रसाद सिलवाल विजयी हुनुभएको छ । दाहाल सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हुनुहुन्थ्यो ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे भने यसपटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ । पाण्डे धादिङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको हो । प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने आठ मन्त्रीमध्ये काठमाडौँ निर्वाचन क्षेत्र नं १ (१) बाट संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले मात्र टिकट पाउनुभएको थियो । श्रेष्ठ सो क्षेत्रबाट निर्वाचित हुनुभएको छ । उहाँ २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

टिकट नपाउने कांग्रेसका प्रदेश मन्त्रीमा भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल, स्वास्थ्यमन्त्री निमा लामा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ हुनुहुन्छ । प्रदेश सरकारमा कांग्रेसबाट तीन राज्यमन्त्रीले पनि टिकट पाएनन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि टिकट पाउनुभएन ।

यसैगरी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेल धादिङ निर्वाचन क्षेत्र नं १ (२) बाट निर्वाचित हुनुभएको छ । यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्तप्रसाद मानन्धर पनि निर्वाचित हुनुभएको छ । दुवै जना सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) को उम्मेदवार भई निर्वाचित हुनुभएको हो । यसैगरी युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल पनि माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री