शुक्रबार, १६ चैत २०८०

पूर्वी तराई जोड्ने दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक स्तरोन्नति सुरु

समयपोष्ट २०७९ कार्तिक १७ गते १६:४५

Advertisement

केदार मगर
खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट खानीडाँडा हुँदै रेग्मीटार पुग्ने सडक स्तरोन्नति थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा हुँदै रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्गमा जोडिने सडकको कामले तीव्रता पाएको हो ।

सडक निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ४० लाख उपलब्ध गराएको छ भने उपभोक्ता समितिले रु छ लाख ७९ हजार सात सय २१ बराबरको श्रमदान उपलब्ध गराएको छ ।

तत्कालीन जिल्ला विकास समितिले ट्रयाक खोलेको उक्त सडक नगरपालिकाले गौरवको आयोजनामा राखेको छ साढे ३१ किलोमिटर लामो उक्त सडकको भौतिक प्रगतिबारे जानकारी लिन नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, दिक्तेलका वडाध्यक्ष नवराज राई र खाल्लेका वडाध्यक्ष खगेन्द्र राई तथा नगरपालिकाको प्राविधिक टोली मङ्गलबार निर्माणस्थलमा पुगेको थियो ।

नगरप्रमुख विशन राईले तत्कालका लागि राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायात सञ्चालन गर्न सकिने सम्भावना रहेको बताउनुभयो । तत्कालिन जिल्ला विकास समितिले आहालेबाट राजापानीको घर्तीभिरसम्म र सगरथामा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभीरसम्म सिधा ‘ट्रयाक’ खोलेको थियो ।

घर्तीभिरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्र्याकलाई जोड्न नसकिएको नगरप्रमुख भट्टराईको भनाइ छ । “घर्तीभिरको चट्टान फोडेर ट्र्याक जोड्ने प्रयास जारी छ”, उहाँले भन्नुभयो, “ट्र्याक नजोडिँदा हाल दिक्तेलबाट महुरे, बुइँपा, राजापानी हुँदै घुमेर रेग्मीटार पुग्नुपर्ने बाध्यता छ ।” उक्त सडक जोड्न सकिए दिक्तेलबाट डेढ घण्टामा रेग्मीटार पुग्न सकिने उहाँको भनाइ छ ।

दिक्तेल–महुरेबीचको २० किलोमिटर सडक कालोपत्र भइसकेको छ भने महुरे–राजापानी–रेग्मीटारअन्तर्गत पर्ने २९ किलोमिटर सडकमा कालोपत्र भइरहेको छ । हाल स्तरोन्नति सुरु गरिएको दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकखण्ड दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ ।

नगरप्रमुख नवराज भट्टराईले अहिले प्राप्त भएकै बजेटबाट काम गर्न उपभोक्ता समितिलाई निर्देशन दिनुभएको छ । अपुग बजेटका लागि फेरि बजेट व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

सडक स्तरोन्नति भई नियमित यातायात सञ्चालन भए कम मूल्यमै खाद्यान्न, हार्डवेयर, इन्धनलगायत उपभोग्यवस्तु ढुवानी गर्न सकिने वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।

दिक्तेल–खानीडाँडा सडक भने करिब वर्ष दिनदेखि अलपत्र अवस्थामा छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा कालोपत्रको काम थालिए पनि ठेकेदारको लापरबाहीले अलपत्र परेको हो ।

ठेकेदार कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभीले २०७६ चैत ७ भित्र सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो । त्यसपछि समयावधि बढाएर २०७८ वैशाख २९ गते बनाइएको थियो । अलपत्र अवस्थामा रहेको दिक्तेल–खानीडाँडा सडक कालोपत्रको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ४७.७६ प्रतिशत मात्रै पुगेको छ । अलपत्र सडक तत्काल सम्पन्न गर्न ठेकेदार कम्पनीलाई लिखितरुपमै निर्देशन दिइएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री