शुक्रबार, ७ वैशाख २०८१

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दुई विद्यालय भवनको समुद्धघाटन

समयपोष्ट २०७८ मंसिर १३ गते १४:१९

Advertisement

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका दुई विद्यालय भवनहरुको समुद्धघाटन भएको छ ।

भारत सरकारको नेरु. १ करोड २७ लाख आर्थिक सहयोगमा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनहरुको आइतबार समुद्धघाटन गरिएको हो ।

दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ विद्यालय भवनको भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पा, जिल्ला समन्वय सिमिति, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले उद्घाटन गर्नुभयो ।

सन् १९६० मा स्थापना भएको यस विद्यालयले लामो समयदेखि गुणस्तरीय प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दार्जुला जिल्लाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका रहेका छन् । हाल विद्यालयमा अध्ययनरत ३९१ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा रहेका छन् । यस नवनिर्मित भवनले ग्रामीण क्षेत्रको सिकाई वातावरणलाई सुधार गर्नुका साथै सो जिल्लाको शैक्षिक विकासमा टेवा पुर्याउने विश्वास लिएको छ ।

सोही दिन भारत–नेपाल विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु. २ करोड ३३ लाख आर्थिक सहयोग दार्चुला जिल्लाको महाकाली–७ धापस्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको पनि दूतावासका नियोग उप–प्रमुख सी.खम्पा, महाकाली नगरपालिका, दार्चुला, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुद्वारा उद्घाटन गरियो ।

सन् १९६६ मा स्थापना भएको यो विद्यालय सन् १९८४ मा माध्यमिक तहमा स्तरोन्नति भएको हो । यो विद्यालय सुदूरपश्चिम क्षेत्रमा अवस्थित छ । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई राख्न यसअघिको पूर्वाधार अपर्याप्त थियो । भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण भएको यस दुई तल्ले नवनिर्मित विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पुर्याउने विश्वास लिएको छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुरुप यी परियोजनाहरुलाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’का रुपमा अघि बढाइएको हो । यी परियोजनाहरुको कार्यान्वयन क्रमशः जिल्ला समन्वय समिति, दार्चुला र महाकाली नगरपालिका, दार्चुलाले गरेका हुन् ।

सन् २००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । हालसम्म ४५९ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये दार्चुला जिल्लाका ६ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा रहेका छन् । उल्लिखित परियोजनाका अतिरिक्त भारतीय राजदूतावासले दार्चुला जिल्लाका विभिन्न स्वस्थ्य चौकी तथा गैर सरकारी संस्थालाई पाँच वटा एम्बुलेन्स र एउटा स्कुलबस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

यी नवनिर्मित संरचनाहरुले त्यस क्षेत्रमा पठनपाठन तथा सिकाईको वातावरणलाई थप सुदृढ बनाउनुका साथै जिल्लाको शैक्षिक विकासमा टेवा पु¥याउने आशा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री