बिहीबार, ६ वैशाख २०८१

फस्टाउँदैछन् बन्दाबन्दीमा खुलेका फुड डेलिभरी कम्पनी

समयपोष्ट २०७८ मंसिर ११ गते ११:५४

Advertisement

कार्य व्यस्तताले चाहेजस्तो खाना खान रेष्टुराँ जान नभ्याउनेका लागि घर र कार्यालयमै तयारी खानेकुरा पु¥याइदिन झापामा खुलेका फुड डेलिभरी कम्पनी लोकप्रिय हुन थालेका छन् ।

जनघनत्व भएको सहर विर्तामोड र मेचीनगरमा खुलेका त्यस्ता कम्पनीले मोबाइल एप्स् प्रयोग गरी अर्डर लिएर ग्राहककै रुचिको खानेकुरा घरदैलोमै पु¥याउने गर्दै आएका छन् । मेचीनगर–१० का २८ वर्षीय प्रनित पुडासैनी र २४ वर्षीय सरोज खरेलले ड्रिम्स ग्रुुप अफ कम्पनी स्थापना गरेर विर्तामोडमा ‘टिफिन बक्स’ सेवा सुरु गर्नुभएको हो । अनलाइनमार्फत खानेकुराको अर्डर लिने गरेको यस कम्पनीले विर्तामोड र आसपासको १५० वटा संस्थासँग सम्झौता गरी नियमित खाना र खाजा पु¥याउने गरेको कम्पनीका निर्देशक पुडासैनीले जानकारी दिनुभयो ।

“बिर्तामोडको १० किलोमिटरको परिधिभित्र जहाँ पनि खानेकुरा पुर्याउन हाम्रा कर्मचारी तयारी अवस्थामा हुन्छन्”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल र मोबाइल एप्सबाट पनि ग्राहकको अर्डर आउँछ ।” फुड डेलिभरि कम्पनी सुरु गर्नु अघि उहाँ मिडिया र मोडलिङ क्षेत्रमा काम गर्नुहुन्थ्यो । झापाको सूर्योदय टेलिभिजनमा समाचार बाचक भएर लामो अवधि पत्रकारिता गर्नुभएको निर्देशक पुडासैनीले जिल्लामा दर्जनौँ ‘ट्यालेन्ट शो’ प्रतियोगिताको आयोजनासमेत गर्नुभएको थियो ।

“कोभिड–१९ को महामारीका कारण लामो अवधिसम्म बन्दाबन्दी हुँदा मोडलिङ र मिडियामा नराम्रो असर प¥यो”, पुडासैनीले फुड डेलिभरी व्यवसाय सुरु गर्नुको कारण बताउँदै भन्नुभयो, “बन्दाबन्दीमा खुल्नै पर्ने बैंक, वित्तीय संस्था, अस्पताललगायत कार्यालयमा कार्यरत कर्मचारीले दिवाकालीन खाजा खान कठिनाइ भएको देखेँ । त्यसपछि फुड डेलिभरीको व्यापार चल्ने सोच पलायो ।” आफ्नै भान्सा घरसमेत चलाउँदै आएको ‘टिफिन बक्स’ले रु ६० देखि एक हजारसम्म पर्ने २५० प्रकारका खानेकुराका परिकार ग्राहकलाई उपलब्ध गराउँदै आएको जनाएको छ । दश किलोमिटर वरपर सामान पुर्याउँदा सेवा शुल्क नलाग्ने तर त्यसभन्दा टाढा लैजाँदा प्रतिकिलोमिटर रु १० का दरले सेवा शुल्क लिने गरेको उहाँले बताउनुभयो ।

मानिस टिफिन बक्समा घरबाट खाजा बोकेर कार्यालय जाने पुरानो चलनलाई पछ्याउँदै कम्पनीको नामाकरण ‘टिफिन बक्स’ राखिएको उहाँको भनाइ थियो । ‘टिफिन बक्स’ जस्तै ‘यमी’ नामको कम्पनी पनि झापामा फुड डेलिभरी व्यवसायमा लोकप्रिय बनिरहेको छ । भारतको दिल्ली युनिभर्सिटीबाट बिजनेस मेनेजमेन्टमा स्नातक उत्तीर्ण गर्नुभएका २२ वर्षीय अन्सुल वंशलको नविनतम् व्यावसायिक सोचको उपज हो ‘यमी’ । मेचीनगर–१० धुलाकारीका वंशलले पनि बन्दाबन्दीको बेलामा सर्वसाधारणले मनलाग्दी खानेकुरा खान रेष्टुराँ जान सकेको देख्नुभएको थियो । कोरोनाको डरले मानिस घर बाहिर निस्कन डराउँथे तर मीठो खाजाको सम्झना त आइहाल्थ्यो । विदेशमा घर र कार्यालय बसेरै खानेकुराको अर्डर गर्न सकिने चलन देखेको हुँदा वंशलमा स्वदेशमै त्यस्तै नयाँ काम गर्ने हुटहुटी जाग्यो । जसका कारण ‘यमी’को जन्म भएको उहाँले सुनाउनुभयो ।

फुड डेलिभरीको व्यवसाय एक्लै गर्न सम्भव नदेखेर उहाँले साइक्लिस्ट साथी धनराज थापासँग मिलेर ‘यमी फुड्स डेलिभरि सर्भिस्’ नामक कम्पनी सञ्चालन गर्नुभयो । यसले अहिले विर्तामोडलाई केन्द्र बनाएर झापा जिल्लाभरि आफ्नो व्यापार विस्तार गरिसकेको छ । “अहिलेसम्म हामी झापामा सीमित छौँ, तर छिट्टै यसलाई विस्तार गरेर प्रदेश नं १ भरि पु¥याउने योजना गरिरहेका छौँ”, यमीका सञ्चालक वंशलले भन्नुभयो, “आजका युवा पुस्ताको चाहना र प्रविधिले दिएको सुविधालाई हामीले संयोजन गरेर व्यवसायलाई अघि बढाउन सक्यौँ ।” यस्तो व्यवसाय सञ्चालनमा सामाजिक सञ्जाल र मोबाइल एप्सले मद्त गरेको उहाँले बताउनुभयो ।

यमीले झापामा रहेका प्रसिद्ध रेष्टुराँमा पाकेको खाजा उपभोक्तासमक्ष ताजै पु¥याउने गरेको छ । मूल्य पनि रेस्टुरेन्टकै हुने बताइएको छ । दूरीअनुसार रु ३० देखि रु १०० सम्म सेवा शुल्क लिने गरिएको उहाँले जानकारी दिनुभयो । पहिलो डेलिभरिमा जुनसुकै सामान मगाए पनि सेवा शुल्क नलिने र जन्मदिनको केक अर्डर गर्दा सेवा शुल्क नलिने यमीको अफर छ । एप्स डेभलपमेन्ट, डेलिभरी, मार्केटिङ र डिजाइनर गरी २५ युवाको टिमले ‘यमी’मा काम गरिरहेको छ । पिज्जा, बर्गर, जन्म दिनको केक, पाउँभाजी, पान, चिसो पेय पदार्थलगायत शुद्ध भेज आइटमका खानेकुरा ‘यमी’ले ग्राहकलाई पु¥याउने गरेको छ ।

फेसबुक पेजमा परिकार र अफरका बारेमा विस्तृत जानकारी राखेर सेवा प्रदायक यस्ता कम्पनीले ग्राहकलाई छनोटको अवसर पनि दिने गरेका छन् । सामाजिक सञ्जाल चलाउने पुस्ता फुड डेलिभरी सेवाप्रति आकर्षित रहेको र प्रतिक्रिया सकारात्मक आइरहेको ‘यमी’का सञ्चालक वंशलले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री