शुक्रबार, १६ चैत २०८०

वार्षिक चार लाख युवालाई रोजगारी प्रदान गर्ने रणनीति बनाएका छौँ : अध्यक्ष गोल्छा

समयपोष्ट २०७७ मंसिर १५ गते १५:५४

Advertisement

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाले पारेको असरलाई चिरेर दिगो आर्थिक वृद्धिका लागि आफूहरुले विशेष रणनीति तयार पारेको बताउँनुभएको छ ।

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औँ वार्षिकोत्सव तथा २२औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उहाँले आफूहरुले तयार पारेको विशेष रणनीति केही दिनभित्रै सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

अध्यक्ष गोल्छाले वार्षिक चार लाख युवालाई रोजगारी प्रदान गर्न महासङ्घले उक्त रणनीतिमा विशेष जोड दिएको उल्लेख गर्दै साना तथा मझौला उद्योग कोभिड– १९ का कारण सबैभन्दा बढी प्रभावमा परेका बताउनुभयो । उहाँले कोरोनाले पारेको प्रभावलाई न्यून गर्दै विभिन्न क्षेत्रमा कर तथा भन्सार छुट र न्यून नीतिगत सुधार जरुरी रहेको स्पष्ट पार्नुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिश मोरले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वासको वातावरण बनाउन सरकारले विशेष पहल गरेको अवस्थामा कोरोना नेपालका लागि एउटा अवसर बन्न सक्ने बताउनुभयो । उहाँले कोभिड–१९ ले सिर्जना गरेको सङ्कटलाई समाधान गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन, पूर्ण रुपमा उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न र आर्थिक गतिविधिलाई प्रश्रय दिन सबैको साझा प्रयास जरुरी रहेका बताउनुभयो ।

अध्यक्ष मोरले चालू आवको बजेट तथा मौद्रिक नीतिमा समावेश गरिएका विषयको वस्तुनिष्ठ कार्यान्वयन गर्न माग गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यून गर्दै आर्थिक गतिविधिलाई बढावा दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री