बिहीबार, १५ चैत २०८०

गौतमबुद्ध विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राख्ने तयारी, एडिबीले दिएको १८ अर्ब ५ करोड रकम मध्येबाट खर्च

समयपोष्ट २०७७ मंसिर १२ गते १२:२१

Advertisement

रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी भएको छ ।
ऊर्जा, जलश्रोत तथा सिंचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको हो ।

शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीहरुलाई बुझाउन निर्देशन दिएको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ ।

एडिबीले सोलार प्लान्टका लागि नेपाललाई दिएको १८ अर्ब ५ करोड रुपैयाँमध्ये झापामा ५, बुटवलमा ७, पोखरामा ४ र चनौटामा ८ मेगावाट विद्युत उत्पादन गर्ने प्रक्रिया यसअघि नै अघि बढेको छ ।

जसमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ । ती योजनामा एडिबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना बनेको हो ।

सोलार प्लान्ट निर्माणधका लागि आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत प्राधिकरणलाई भाडामा दिनेछ ।

निजी क्षेत्रलाई सिधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको छ ।

प्राधिकरणले निजी क्षेत्रलाई सोलार प्लान्ट निर्माणको जिम्मा दिने र उत्पादित विद्युत खरिद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्तावमा छ ।

बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पुनले नेपाल जलविद्युतमा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले एक साताभित्र उपयुक्त प्रस्ताव ल्याउन निर्देशन दिनुभयो । यस्तै पर्यटनमन्त्री भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सकिए अन्तराष्ट्रिय रुपमै राम्रो सन्देश जाने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री