शुक्रबार, १६ चैत २०८०

कलङ्की-धोबीखोला सडक विस्तारका लागि मुआब्जाको विषय टुंग्याउन बाँकी, निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकियो

समयपोष्ट २०७७ मंसिर ८ गते १५:२०

Advertisement

चक्रपथको दोस्रो खण्ड कलङ्की– धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ । चीन सरकारले निर्माण शुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने गरी सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ ।

सो सडकखण्डमा रहेका १९ घर हटाउने काम सबैभन्दा कठिन रहेको छ । तीमध्ये अहिलेसम्म आठ घरका घरधनी सम्पर्कमा आएको काठमाडौँ चक्रपथ सडक योजनाका प्रमुख अर्जुन सुवालले बताउनुभयो । उहाँका अनुसार ती घरको मुआब्जा निर्धारणका लागि बनेको उपसमिति दशैँ पहिले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा रहेको मुआब्जा निर्धारण समितिसँग बैठकमा बसेको थियो । तिहार पहिले प्रजिअ दाहाललाई कोभिड सङ्क्रमण देखिएकाले केही समयसम्म बैठक बस्न नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छिट्टै बैठकमार्फत मुआब्जाको विषय टुङ्ग्याएर अघि बढ्नेछौँ ।”

अहिले वडा कार्यालयबाट ती घरको विवरण मागिएकाले त्यसैका आधारमा मूल्याङ्कन गरेर काम अघि बढ्ने जनाइएको छ । नेपाल विद्युत् प्राधिकरणले हाइटेन्सन पोललाई मोनो पोल बनाएर हटाउन लागेको पनि सुवालले जानकारी दिनुभयो । सानो भ¥याङ र कारखाना चोकमा बालाजुतर्फ जाने विद्युत्का लागि मोनो पोल बनाउन लागिएको हो । उहाँले भन्नुभयो, “प्राधिकरणले ठेक्का निकाल्न लागेको छ, दुई महिनामा सकाउने तयारी छ ।”
काठमाडौँ महानगरपालिकाले स्वयम्भू नजीकै रहेको चैत्य स्थानान्तरणका लागि प्रक्रिया अघि बढाएको छ । कामपाले ठेक्का अघि बढाएकाले केही समयमा सडकको अधिकार क्षेत्र खाली हुने उहाँको भनाइ छ । आयोजनाले यसअघि नै सडकमा रहेका रुख काट्न र बिजुलीका खम्बा हटाउने काम गरिसकेको छ । खम्बा सारेर पनि तार तान्न बाँकी रहेकाले अब चाँडै अघि बढाइने उहाँले बताउनुभयो ।

दुई महिना पहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो सडकमा बाँकी संरचना हटाउनका लागि समन्वय गर्न विभिन्न निकायका प्रतिनिधिसँग बैठक गरेर जिम्मेवारी बाँडफाँट गरिएको थियो । चक्रपथको पहिलो खण्ड (कोटेश्वर–कलङ्की सडक) मा निर्माणका क्रममा विभिन्न अवरोध आएकाले चिनियाँ पक्षले निर्माणस्थल खाली भएपछि मात्रै काम शुरु गर्ने बताएको छ ।

कोटेश्वर–कलङ्की सडक निर्माण गरिएसँगै चीन सरकारले चक्रपथको दोस्रो खण्डका रुपमा कलङ्की–महाराजगञ्ज सडक विस्तारमा चासो देखाएको थियो । गोरखा भूकम्प पहिले नै कोटेश्वर–कलङ्की सडक विस्तारको काम शुरु भए पनि भूकम्प र त्यसपछि नाकाबन्दीका कारण समयमै निर्माण सम्पन्न हुन सकेको थिएन ।

सडकमा रहेका खानेपानीका पाइप, ढल, बिजुलीका खम्बा र रुख समयमै हटाउन नसकिएकाले पनि काममा बाधा पुगेको थियो । त्यतिबेला निम्तेका समस्या पहिले सल्टाएर मात्रै काम शुरु गर्न चिनियाँ टोलीले चाहेको छ ।

चक्रपथ दोस्रो खण्डमा दुई ‘अण्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनका बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ । झण्डै आठ किलोमिटर लम्बाइको सडक विस्तारका लागि सरकारले सकेसम्म चाँडो निर्माणस्थल खाली गरेर हस्तान्तरण गर्ने गरी तयारी गरिरहेको छ । पहिलो चरणको विस्तारमा रहेको कमजोरी हुन नदिने गरी डिजाइन गरिएको विभागले जनाएको छ ।

आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार र सहायक चार गरेर जम्मा आठ लेन नै रहने बताइएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएकामा अब डिभाइडर राखिने भएको छ । बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने भएको छ । आठ लेनको सडकमा चार लेन अण्डरपास र चार लेन माथिल्लो सडकमा हुनेछ । सो सडकमा पैदलयात्रुलाई सडक पार गर्न प्रत्येक किमीमा एउटा आकाशे पुल निर्माण हुने भएको छ । सो सडकखण्डमा नौ आकाशे पुल निर्माण हुने गरी डिजाइन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री