शुक्रबार, १६ चैत २०८०

धोबीखोला करिडोर १६ किमी कालोपत्र सकियो, खोलाको दुवैतर्फ १२/१२ किमी लम्बाइको सडक

समयपोष्ट २०७७ मंसिर ६ गते ७:३२

Advertisement

सञ्चिता घिमिरे
काठमाडौँ उपत्यकाको मुख्य सडकको सवारी चाप कम गर्ने उपायका रुपमा हेरिएको धोबीखोला करिडोर निर्माण १६ किलोमिटर कालोपत्र सकिएको छ । खोलाको दुवैतर्फ १२/१२ किमी गरी जम्मा २४ किमी लम्बाइको सडक आगामी आवभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सो करिडोरको स्थलगत निरीक्षण गर्दै सडक चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले काठमाडौँको सुन्दरताका रुपमा रहेको करिडोरमा कुरुपता आएकाले त्यसाई हटाउनुपर्नेमा जोड दिनुभयो । ललितपुर र काठमाडौँको सीमामा पर्ने शङ्खमूलबाट शुरु भएर धोबीखोलको किनारै किनार बूढानीलकण्ठसम्म करिडोर रहेको छ । सो करिडोरअन्तर्गत बिजुलीबजारको पुलमुनि सडक खुला नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिकले बिचार नपु¥याएको भए पनि त्यो ठाउँमा एक वर्षभित्रमा गाडी आवतजावत गर्न सक्ने गरी खुलाइनेछ ।”

मन्त्री श्रेष्ठले सडकमा रहेका खाल्डाखुल्डी हटाउन, सरसफाइमा ध्यान दिन र कालोपत्र गर्न बाँकी सडक सम्पन्न गर्न पनि निर्देशन दिनुभयो । निर्माणाधीन सडकमा दूरसञ्चार संस्थानले ठाउँठाउँमा खनिरहेको देख्न सकिन्छ । उहाँले सो स्थानमा संस्थान र प्राधिकरणबीच समन्वय आवश्यक रहेको औँल्याउनुभयो । सडकमा रहेका मङ्गालका कारण सडक दुर्घटना हुने भन्दै उहाँले तत्काल त्यसलाई पुर्न पनि निर्देशन दिनुभयो । उहाँले पैदलयात्रु मार्ग व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यी सबै कुरामा ध्यान दिन सके करिडोरले काठमाडौँको सुन्दरता बढाउनेछ ।”

करिडोर निर्माणमा हालसम्म मुआब्जासमेत गरी रु तीन अर्ब ५० करोड खर्च भइसकेको छ । काठमाडौँ महानगरपालिकाले विसं २०५६ मै करिडोरको निर्माण गर्ने भने पनि अघि बढाउन सकेको थिएन । सरकारले महानगरले नसकेपछि विसं २०६३ मा आयोजना सञ्चालनको जिम्मेवारी प्राधिकरण (तत्कालीन नगर विकास समिति) लाई दिइएको थियो । शुरुका दिनमा दुवैतर्फ घरैघर भएकाले आयोजना सम्भव नभएको धेरैलाई लागेको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताउनुभयो । सडक निर्माणभन्दा मुआब्जामा बढी लगानी भए पनि सडकको दीर्घकालीन महत्व हेरेर निर्माण शुरु गरिएको थियो । उहाँले भन्नुभयो, “जम्मा लगानीमध्ये ७० प्रतिशत मुआब्जामा र बाँकी ३० प्रतिशत मात्रै निर्माणमा खर्च भएको छ ।”

करिडोरमा पर्ने घर, टहरालगायतका संरचना हटाउँदै सडक निर्माण गरिएको छ । सडक निर्माणस्थल खाली गराउने काम झण्डै ९९ प्रतिशत सकिएको प्रमुख तिवारीले जानकारी दिनुभयो । सडकमा अहिले पाँच वटा घर मात्रै हटाउन बाँकी छ । उनीहरुले मुआब्जामा चित्त नबुझाएकाले हटाउन बाँकी भएको उहाँले जानकारी दिनुभयो । सडकमा पूरै घर हटेकालाई क्षतिपूर्ति बापतको रकम दिइएको छ । आफ्नो नाममा जग्गाधनी पुर्जा नभएका स्ववासीलाई पनि अन्यत्र घर बनाउन रकम दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणस्थल हटाउने धेरै काम सकिएकाले थोरै मात्रै बाँकी छ ।”

करिडोर चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि पहिराका कारण चालू आवमा सम्पन्न गर्न नसकिने देखिएको प्राधिकरणले जनाएको छ । पहिले सडकमा ढल र सडक निर्माणको काम फरकफरक कम्पनीले गरेको भए पनि अहिले एउटै निर्माण कम्पनीमार्फत अघि बढाइएको प्रमुख तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै कम्पनीले गर्दा समन्वयको समस्या हुँदैन ।”

काठमाडौँ उपत्यकाका मुख्य सडकमा रहेका सवारी चाप कम गराउने उद्देश्यले सरकारले वाग्मतीलगायतका सहायक खोलामा करिडोर निर्माण शुरु गरेको छ । तीमध्ये कतिपय निर्माण सम्पन्न हुने क्रममा छन् भने कतिपयमा शुरु भएको लामो समयमा समेत सम्पन्न भइसकेको छैन । वाग्मती, मनोहरा, हनुमन्ते, धोवीखोला, विष्णुमती, नख्खुलगायतका खोलामा करिडोर निर्माण भइरहेको छ । यी करिडोर निर्माण सम्पन्न भएपछि धेरै ठाउँका स्थानीयवासी मुख्य सडक नपुगेर नै गन्तव्यसम्म पुग्नेछन् । यसले गर्दा उपत्यकाका बढी सवारी चाप हुने सडकको चाप कम हुने अपेक्षा गरिएको छ । अनुगमनमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, काठमाडौँ उपत्यका विकास प्राधिरणका प्रमुख तिवारी, मन्त्रालय र प्राधिकरणका कर्मचारी सहभागी थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री